Aamsanchar

आयोजक सेमिफाइनलमा

Author Image
बिहिवार, असोज ११, २०७५

शान्तिनगर।

आयोजक धारागोला युथ क्लब झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार धारागोला खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्यालडाँगी युवा क्लब बिर्तामोडलाई टाइब्रेकरमा ५–४ गोलको अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा २ गोलले पछि परेको आयोजकले दोस्रो हाफमा पुनरागमन गरेको थियो । पहिलो हाफको १० औँ मिनेटमा स्यालडाँगीका लागि सुजन बालाकोटीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आयोजकलाई पहिलो हाफमा दवाबमा राखेको खेलमा २२ आँै मिनेटमा पुन स्यालडाँगीका लागि राजा कार्कीले डिबक्स एरियाबाट प्रहार गरेको गोलले जाली चुमेको थियो ।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको खेलमा आयोजकले ४९ आँै मिनेटमा पाएको कर्नरलाई सदुपयोग गर्दै विवेक राईले उत्कृष्ट गोल गरेका थिए । स्यालडाँगीलाई लगातार दवाबमा राखेको खेलको इन्जुरी समयमा आयोजकले पाएको कर्नरमा उज्वल शेर्माले लोभलाग्दो गोल गरेपछि आयोजक खेलमा फर्किएको थियो । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकर तर्फ धकेलिएको थियो । टाईब्रेकरमा स्यालडाँगीलाई ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । बिहिबारको खेलको म्यान अफ द म्याच विजयी टिमका उज्वल शेर्मा घोषित भए ।

उनलाई स्वर्गीय रविन्द्रमाया लावतीको स्मृतिमा प्रायोजित नगद पुरस्कार उनकी नातिनी श्वेता लावतीले प्रदान गरिन् । शुक्रबारको दोस्रो क्वाटर फाइनल खेलमा मुनामदन एकाडेमी बर्ने र गोधुली युवा क्लब धाईजन बिच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव शष्टकुमार राईले जानकारी दिए । खेल दिउँसो ३ः०० बजेबाट शुरु हुनेछ ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपविजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ ।

असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)