Aamsanchar

दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य

Author Image
बिहिवार, असोज ११, २०७५

काठमाडौँ,

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभएको छ ।

नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने उल्लेख गर्नुभयो ।

उहाँले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले लामो समयदेखि बिग्रीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्याबका लागि काम भइरहेको समेत जानकारी दिनुभयो । सन् २०२० भन्दा अगाडि नै रिह्याबको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधार तथा नयाँ पीक र गन्तव्य खोल्न पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरियो ।

यस वर्षको कुमारखड्ग विक्रम साहसिक पुरस्कार दक्षिण कोरियाका आरोही डा ओम हुङ्गेल र डा हर्क गुरुङ पर्वतीय पुरस्कार कोरियाकै डा इङ जोङलीलाई सम्मान गरियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटुप शेर्पा र दि हिमालयन टाइम्सका राजन पोखरेललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, हिमाल आरोहणमा धेरै आरोही पठाउने विभिन्न १० ट्रेकिङ्ग एण्ड एक्सपिडिसन कम्पनीलाई पनि सङ्घले सम्मान गरेको थियो । ती सबै पुरस्कार पर्यटनमन्त्री अधिकारीले प्रदान गर्नुभएको थियो ।

ठमेल सडक महोत्सव 

यसैगरी विश्व पर्यटन दिवसको अवसरमा आज ठमेलमा सडक महोत्सव आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गरेको हो ।

त्रिदेवी मार्गमा औपचारिक उद्घाटन भएको महोत्सव ठमेलका नरसिंह चौक, सातघुम्तीलगायत मुख्य सडकमा विविध सांस्कृतिक कार्यक्रम गरी आयोजना गरिएको छ ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।
महोत्सवका अतिथिलाई ठमेल परिक्रमा गराइएको छ । विभिन्न जनजातिको १० वटाभन्दा बढी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शनी र चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रमले ठमेलको रौनकता बढाएको छ । महोत्सवमा उल्लेख्य सङ्ख्यामा स्वदेशी सर्वसाधारण तथा विदेशी पर्यटकको घुइचो छ ।

नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर