शान्तिनगर,
मनास्लु युवा क्लब कालिस्थान झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आयोजित प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शनिबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा युनिटी युवा क्लब बर्नेलाई १–० गोल अन्तरले पराजित गर्दै कालिस्थान अन्तिम चारमा प्रवेश गरेको हो ।
शनिबारको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर पाएपनि पहिलो हाफमा गोल हुन सकेन् । दोस्रो हाफमा दुबै टोलीले सुधारिएको प्रदर्शन गरेका थिए । मनास्लुका लागि दोस्रो हाफको ४२ औँ मिनेटमा प्रवेश आले मगरले गोल गरेका थिए ।
उनले डिबक्स एरियाबाट प्रहार गरेको बलले सिधैँ जाली चुमेको थियो । सोही गोलको मदतले मनास्लुले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आइतबारको अन्तिम क्वाटरफाइनल खेलमा बहुवन स्पोटिङ क्लब इलाम र प्रतिभा युवा क्लब चारआली बिच प्रतिस्पर्धा हुने आयोजक समितिका बरिष्ठ उपाध्यक्ष कोरियन तामाङ्गले जानकारी दिए । खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।
पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकीय स्थल धारागोला भ्यूटावरको प्रचार–प्रसारका साथै स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने र खेल मैदानको स्तर उन्नती गर्ने उद्धेश्यले सो फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ ट्रफि, प्रमाणपत्र र उपबिजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफि प्रमाण–पत्र प्राप्त गर्नेछ ।
असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीले सहभागिता जनाएका थिए ।