Aamsanchar

नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

Author Image
आइतवार, असोज १४, २०७५

कञ्चनपुर, 

भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ ।

नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा रु नौ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको हो । नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का एक हजार दुई सय र ५ का एक हजार हजार तीन सय बासिन्दा खानेपानी सुविधा पाउनेछन् ।

खानेपानी संस्थानका कार्यालय प्रमुख हरिकुमार श्रेष्ठले चालू आवभित्र बासिन्दाको घरमा पानी पुगाउने लक्ष्य राखिएको बताउनुभयो । उल्टाखाम र वनगाउँका बासिन्दाका लागि खानेपानी आयोजना बन्न लागेको हो संस्थानका कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “यो वर्षभित्र पानी उपलब्ध गराउँछौँ ।”

चालू आवमा साढे १५ किलोमिटर पाइप लाइन विस्तार हुने र दुवै स्थानमा ट्युवेल जडान गरिने कार्यालय प्रमुख श्रेष्ठको भनाइ रहेको छ । आयोजनाअन्तर्गत ४५० घनमिटरका दुई ट्याङ्की निर्माण गरिनेछन् । नगरपालिका–२ का अध्यक्ष डम्मर सिंह कार्कीले खानेपानी सञ्चालन भएपछि नल्काको पानी खानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

यसैगरी नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाका लागि नगरपालिका–८ तिलौचारमा रु २८ करोड ५० लाखको लगानीमा अर्को खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । चुरे क्षेत्रमा गर्मीका बेला नल्का र कुवाँमा पानी सुक्ने समस्या हुँदा स्थानीय बसिन्दाले निकै सास्ती खेप्दै आएका छन् । आयोजना निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रुपमा पानी पिउन पाउने छन् । नगरवासीलाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर