शान्तिनगर,
झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा आयोजित प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ ।
आइतबार भएको अन्तिम क्वाटर फाइनल खेलमा प्रतिभा युवा क्लब चारआलीलाई २–० गोल अन्तरले पराजित गर्दै बहुवन युवा क्लब अन्तिम चारमा प्रवेश गरेको छ । आईतबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा बहुवनले निर्धारित समयमा प्रतिभा युवा क्लबलाई दवावमा राखेको थियो ।
पहिलो हाफको १ मिनेटमै बहुवनका लागि सुदिप राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतिभाले सम्हालिएर खेल्न नसक्दा पहिलो हाफको १८ औँ मिनेटमा सुरज तामाङ्गले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफ २–० ले पछि परेको बहुवनले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन् ।
आइतबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका सुरज तामाङ्ग घोषित भए । उनलाई स्वर्गीय रबिन्द्रमाया लावतीको स्मृतिमा छोरी मनिमा लावतीले प्रदान गरेको पुरस्कार आयोजक समितिका स–सचिब राजकुमार लावतीले प्रदान गरे ।
सोमबारबाट सेमिफाइनलका खेलहरु शुरु हुनेछ । सोमबारको पहिलो सेमिफाइनलमा आयोजक धारागोला युवा क्लब र मनास्लु युवा क्लब कालिस्थानवीच प्रतिस्पर्धा हुने आयोजक समितिका बरिष्ठ उपाध्यक्ष कोरियन तामाङ्गले जानकारी दिए । खेल दिउँसो ३ :०० बजेबाट शुरु हुनेछ ।
पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकीय स्थल धारागोला भ्यूटावरको प्रचार–प्रसारका साथै स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने र खेल मैदानको स्तर उन्नती गर्ने उद्धेश्यले सो फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ ट्रफि, प्रमाणपत्र र उपबिजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफि प्रमाण–पत्र प्राप्त गर्नेछ ।
असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीले सहभागिता जनाएका थिए ।