Aamsanchar

‘निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी’

Author Image
बिहिवार, असोज १८, २०७५

धनुषा, 

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताउनुभएको छ ।

निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको जानकारी दिँदै उहाँले अब हरेक वडामा स्वास्थ्य चौकी खोलिने जानकारी दिनुभयो । जनकपुर अञ्चल अस्पतालको बाहिरङ्ग विभागको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “निःशुल्क आधारभूत स्थास्थ्य सेवाका लागि हामी प्रत्येक नगर, गाउँपालिका र वडामा स्वास्थ्य संस्था खोल्छौँ । कोठा उपलब्ध नभए भाडामा लिएर पनि खोल्छौँ ।”

मन्त्री यादवले प्रदेश नं २ स्वास्थ्य सेवामा पछि परेको भन्दै स्वास्थ्य क्षेत्रमा विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्नसमेत संसद्मा प्रस्ताव लगिसकेको जानकारी दिनुभयो । उहाँले जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरी प्रादेशिक अस्पताल घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्दै जनकपुरलाई मेडिकल हब बनाउन सोही अस्पतालमा मेडिकल कलेज खोल्नुपर्ने बताउनुभयो ।

एक अस्पतालको रिपोर्ट अर्को अस्पतालमा गएर नमिल्ने र गलत पनि ठहर हुने गरेको स्मरण गराउँदै उहाँले सबै प्रदेशमा स्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको बताउनुभयो । मन्त्री यादवले प्रदेश नं २ मा क्यान्सर अस्तपताल निर्माण गर्न सरकारले अध्ययन समिति गठन गरेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर