बलेवा,

जिल्ला सदरमुकाम नजिकै रहेको एक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीको अभिभावकत्व यहाँको एक सामाजिक संस्थाले ग्रहण गरेको छ ।

बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत तीन चेपाङ र दुई विपन्न परिवारका बालबालिकाको अभिभावकत्व स्थानीय मालिका समाजले ग्रहण गरेको हो ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको उक्त समाजले शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा कक्षा ३ मा अध्ययनरत सुस्मिता चेपाङ, कक्षा ५ मा अध्ययनरत सुनिता चेपाङ, कक्षा ४ मा अध्ययनरत रोजिना सापकोटा, कक्षा ७ मा अध्ययनरत गाणेश सापकोटा र कक्षा १ मा अध्ययनरत सीता विकको अभिभावकत्व ग्रहण गरिएको समाजका अध्यक्ष दुर्गा कुँवरले बताउनुभयो ।

उनीहरुलाई कक्षा ८ सम्म विद्यालयमा लाग्ने सबै खर्च समाजले व्यहोर्ने भएको छ ।“विद्यालयमा आवश्यक शैक्षिक सामग्री, पोशाक, दिवा खाजालगायत सबैखाले सहयोग गर्ने भनेका छौँ”, अध्यक्ष कुँवरले भन्नुभयो ।

