काठमाडौँ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन्। सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे।

शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दशैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओली सरकारलाई ‘नालायक’ को संज्ञा दिएका हुन् ।

उनले वातावरणीयलगायतका सबै हिसाबले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ। सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क पनि गरे।

