Aamsanchar

लागुऔषध सहित भद्रपुरका दुई युवक पक्राउ

Author Image
आइतवार, असोज २१, २०७५

भद्रपुर ।

प्रहरीले चोरी निकासीको बाटो प्रयोग गरी भद्रपुर नाकाबाट लागुऔषध भित्राउने दुई युवकलाई शनिवार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ७ निवासी ३२ बर्षीय सुवर्ण श्रेष्ठ र सोही ठाउँका ३४ बर्षीय नारायण गुरुङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल नेपाल झापा गण २ बाट खटिएका संयुक्त सादा पोशाकका प्रहरी टोलीले उनीहरुलाई लागुऔषध इन्जेक्सन र ट्याब्लेटसहित भद्रपुर ५ स्थित गणेश मन्दिर पूर्व नयाँ टोलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ८८ एम्पुल, फेनारगन ८८ एम्पुल र लुपिजेसिक ८८ एम्पुल बरामद गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

उनका अनुसार सादा पोशाकमा प्रहरीले लागुऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिएपछि उनकै बयानको आधारमा सोही ठाउँमा मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा गुरुङलाई पनि नियन्त्रणमा लिएको हो ।

दुवै जनाले लागुऔषध भित्राउने गरेको खुलेको प्रहरीले जनाएको छ । यता पक्राउ परेका दुवै जनालाई मोटरसाइकल र लागुऔषधसहित आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

पछिल्लो समयमा भद्रपुर नाकाबाट तस्करीको माध्यमबाट विभिन्न प्रकारका सामग्री भित्रिने गरेको र त्यसैलाई रोकथाम गर्ने क्रममा लागुऔषध समेत बरामद गरिएको वडाका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए ।

Views: 209

प्रतिक्रिया (०)