Aamsanchar

नदीजन्य सामग्रीको चरम दोहन भएको गुनासो

Author Image
आइतवार, असोज २१, २०७५

अमित खम्बू / अर्जुनधारा।

नियमनकारी निकाय र सरोकारवालाहरुको नियमित अनुगमन तथा निरीक्षण अभावका कारण नदीजन्य सामग्रीको चरम दोहन हुन थालेको स्थानीयको गुनासो छ ।

अर्जुनधारा नगरपालिकाद्वारा नदी प्रभावित वडामा गत बिहीबारदेखि आयोजित नदीजन्य सामग्री व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका अधिकांश सहभागीहरुले नदीजन्य सामग्रीको चरम दोहन भएको बताएका हुन् ।

कार्यक्रमका सहभागी एवम् पूर्व जनप्रतिनिधि नरबहादुर कन्दङ्वाले वैज्ञानिक ढंगबाट नदीजन्य सामग्रीको उत्खनन् तथा संकलन गर्ने सरकारको नीति भए पनि त्यसलाई कार्यान्वयन गर्न नियमित अनुगमन हुनुपर्ने बताउँछन् । ‘ठेकेदारलाई जथाभावी उत्खनन् गर्न दिनु भएन, नियन्त्रण गरिनुपर्छ’– उनले भने ।

अनुगमनलाई निरन्तरता नदिने हो भने सरकारले निर्माण गरेको नीति र प्रबद्र्धन कार्यक्रमको कुनै औचित्य नहुने अर्का सहभागी शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडा दावी गर्छन् । उनी भन्छन्– सरकारी प्रतिनिधि मात्र होइन, अनुगमनमा जनताको पनि प्रत्यक्ष सहभागिता हुनुपर्दछ ।

त्यस्तै अर्जुनधारा प्रेस क्लबका सचिव प्रेम आचार्यले न्यायोचित ढंगबाट नदीजन्य सामग्रीहरु उत्खनन् गर्न नगरले सञ्चालन गर्ने अनुगमनमा स्थानीयहरुको सहभागिता अनिवार्य हुनुपर्ने बताए । निषेध गरिएको स्थानमा गर्नसक्ने उत्खनन् र संकलनको कार्यलाई नियन्त्रण गर्न पनि अनुगमन आवश्यक रहेको अर्जुनधारा–५का इन्द्रमणि पौड्यालले बताए । नदी प्रभावित वडामा नगरपालिकाले सञ्चालन गरेको प्रबद्र्धन कार्यक्रमलाई वडा अन्तर्गतको नदी प्रभावित क्षेत्र र टोलसम्म पु¥याउनुपर्ने उनको भनाइ छ ।

हिजो नेतृत्वको अभावमा नियमित अनुगमन र निरीक्षण नहुँदा जसरी दोहनको समस्या वृद्धि भइरहेको थियो आज त्यस किसिमको समस्या नहुने कार्यक्रमका सहजकर्ता भूगर्भविद् यदुनाथ तिम्सिनाले दावी गरे ।

प्राकृतिक स्रोतको दोहन होइन उपयोग गर्ने गरी त्यसको नियमित अनुगमन र निरीक्षण गर्न नगरले चालू आर्थिक वर्षको लागि ठेक्का लगाएको पाँच वटा प्याकेज अन्तर्गत १८ वटा स्थानमा अनुगमन समिति निर्माण गरिने नगर प्रमुख हरिकुमार रानाले बताए ।

नगरका जनप्रतिनिधिहरुबाट मात्र अनुगमन तथा निरीक्षण कार्य सम्भव नहुने हुँदा स्थानीय, सरोकारवाला संघ–संस्थाहरुको सहभागिता उक्त समितिमा रहने प्रमुख रानाले बताए । जनतालाई सुसूचित गराउँदै उनीहरुको प्रबद्र्धनको लागि सञ्चालन गरिएको यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।

यता अर्जुनधारा १, ७ र ८ नम्बर वडामा आयोजित कार्यक्रमका केही सहभागीहरुले भने नदीजन्य सामग्री उत्खनन् र संकलन कार्यमा मेसीनको प्रयोगले पिउने पानी, सिञ्चाईं लगायतमा समस्या हुने गरेको बताएका छन् । आफ्ना समस्याको नगरले सही तरीकाले व्यवस्थापन गर्नुपर्ने माग राख्दै उनीहरुले अन्यथा नदीजन्य सामग्री उत्खनन् र संकलन गर्न नदिने चेतावनी दिए ।

यसैबीच नगरले नदी प्रभावित वडाहरुमा सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा समिति ३का वडाध्यक्ष जीवकुमार भण्डारी ‘जीवन’ को अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हीमराज सेढाईंले गरेका थिए ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर