इलाम।

वर्षातको समय समाप्त हुने बित्तिकै इलाम र पाँचथरका कृषकले हिउँदेखेती शुरु गर्न थालेका छन् । चाडपर्वको शुरूवातसँगै हिउँदे खेतीमध्ये तरकारीमा प्रयोग हुने आलुको लागि वीऊ जोहो गर्न यतिबेला कृषकहरु हतारिन थालेका छन् ।

इलाम देउमाई नगरपालिका–१, राँकेबजारका व्यापारीद्वय दिलीप राई र चन्द्रबहादुर श्रेष्ठले करिब एक हजार चार सय मनभन्दा बढी निले, झ्याले, एमएस, बिटे, होलेण्ड, ल्वाङ्फुले आदि जातका आलुका वीऊ बिक्री गर्न जम्मा गरेका छन् ।
विगत चार वर्षदेखि आलु उत्पादनको पकेट क्षेत्र पाँचथरका इथुङ, भालुखोप, सुकेपोखरी, हल्हले, पौवाभञ्ज्याङ् लगायतका ठाँउहरुबाट करिब २०–२५ लाख रुपैयाँ लगानी गरी वीऊ संकलन गर्दै आएको व्यापारी राई बताउँछन् ।

व्यापारीले पाँचथरको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका साथै इलामको देउमाई नगरपालिका, इलाम नगरपालिका, सूर्योदय नगरपालिका र फाक्फोकथुम गाउँपालिकाका अधिकांश कृषकले माग गरे अनुसारका वीऊ ल्याउने गरेका छन् ।
अहिले आलुको वीऊ जात अनुसारप्रति मनको मूल्य एक हजार आठ सयदेखि तीन हजार रुपैयाँसम्म रहेको छ । स्थानीय व्यापारीले ५० देखि एक सय मनसम्म लैजाने गरेको र धेरैजसो कृषकलाई होम डेलिभरिको सुविधा दिने समेत व्यापारीहरुको भनाइ छ ।
इलाम नगरपालिका–४ मलातेका कृषक टंकनाथ दुलाल भन्छन्– ‘पाँचथर इथुङ्गको वीऊ धेरै चर्चित छ, त्यहीँबाट ल्याएको नीले आलु धेरै राम्रो फल्छ अनि स्वादिलो पनि हुन्छ त्यसैले हरेक सिजनमा त्यहीँको वीऊ मगाएर रोप्ने गरेको छु ।’
अग्र्यानिक तरिकाले उत्पादन गरेको झ्याले आलु तरकारीको लागि बिर्तामोड, विराटनगर, धरान र काठमाडौं जस्ता ठूला शहरसम्म माग भई बिक्रीवितरण गरेको व्यापारी श्रेष्ठ बताउँछन् ।

