Aamsanchar

उद्घाटन खेलमा जलथल एफसी विजयी

Author Image
आइतवार, असोज २१, २०७५

बिर्तामोड ।

दशैँको अवसर पारेर बिर्तामोडमा आइतबारदेखि १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

२८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको आयोजना हाम्रो एकता युवा समाज नेपालले गरेको हो । प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा जलथल एफसी हल्दिबारी विजयी भएको छ । बिर्तामोड–२ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा जलथलले धुलाबारी फुटबल एकाडेमीलाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । जलथलका तर्फबाट विवेक शिलिङले २ तथा तान्छोकहाङ लिम्बू र सञ्जोग भुजेलले एक÷एक गोल गरे । धुलाबारीका तर्फबाट मिसेन सुब्बाले सान्त्वोना गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच विजयी टोलीबाट दुई गोल गर्ने विवेक शिलिङ घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा दमक ट्रेनिङ सेन्टर दमक र मुनाल क्लब चन्द्रगढीबिच खेल हुने आयोजक संस्था हाम्रो एकता युवा समाजका सचिब लक्ष्मीप्रसाद घिमिरेले बताए ।

प्रतियोगितामा झापाका उत्कृष्ट ८ टीमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

खेलले युवामा स्वस्थ प्रतिस्पर्धी भावनाको विकास गराउने भएकाले दशैँको अवसर पार्दै खेलको आयोजना गरिएको अध्यक्ष पौडेलको भनाइ छ । खेलको बिजेता टिमले नगद ३५ हजारसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उपविजेताले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट फरवार्डलाई समेत नगद ३ हजार पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

हाई स्कोरर र म्यान अफ टुर्नामेन्टलाई नगद ४ हजार प्रदान गरिने सचिव घिमिरेले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार नगद पुरस्कार दिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)