बिर्तामोड।

झापाको मेचीनगरबाट हातहतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर नगरपालिका–६ निवासी ३८ बर्षीय बिशाल लिम्बू र सोही ठाउँका अनुप उराऊ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले असोज २२ गते मेचीनगर–६मा शंकास्पद अवस्थामा फेला परेको डब्लुबी १७४२७००१ नम्बर प्लेटको भारतीय बोलेरो गाडीमा चेकजाँच गर्दा दुई बोतल लागूऔषध र १० चक्की नाइट्रोजन ट्याब्लेटसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका दुईजना मध्ये लिम्बूमाथि शंका लागि प्रहरीले उनको घरमा खानतलासी गर्दा हातहतियार, विस्फोटक पदार्थसहित गैरकानूनी बस्तु बरामद गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
प्रहरीले लिम्बूको घरबाट एक केजी ५ सय ग्राम लागूऔषध चरेस, विष्फोटक पदार्थ लोला थान ९, फ्युज, केप, तारसहित डेटोनेटर थान ४०, एक थान नक्कली पेस्तोल, सानो पेस्तोलमा फिट हुने फलामको म्याग्जिन एक थान, ४४० ग्राम बारुद्ध, सुन जस्तो देखिने एउटा आंैठी, एउटा चेन, आर्मी कलरको कम्ब्याक्ट दुई थान, संघीय लिम्बुवान राज्य परिषद् लेखिएको सम्मानपत्र, प्रशिक्षण कदर पत्र, सोही परिसद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, बिभिन्न प्रकारका छाप, प्याड, पञ्चिङ मेसिन लगायतका वस्तुहरु, बाला सुब्बा, सीताराम आङ्देम्बे नामबाट बनाएको दुई थान नागरिकता, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नामको सवारी चालक अनुमति–पत्र, दुई थान मोवाइल फोन बरामद गरेको छ ।

यता प्रहरीले उनीहरुमाथि लागूऔषध, बिष्फोटक पदार्थ, हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गराई आवश्यक अनुसन्धान शुरु गरिसकेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार लागूऔषधमा १५ बर्षदेखि जन्मकैद वा ५देखि २५ लाखसम्म जरिवाना हुन्छ । त्यस्तै विष्फोटक पदार्थमा १० बर्षसम्म कैद र हातहतियारमा तीन बर्षसम्म कैद हुने व्यवस्था कानूनले तोकेको छ ।

