Aamsanchar

राजगढमा एभरेष्ट सिनेमा हल सञ्चालनमा

Author Image
बिहिवार, असोज २५, २०७५

बिर्तामोड।

झापाको राजगढमा पाँच करोड रुपैयाँको लागतमा अत्याधुनिक र सुविधासम्पन्न ‘एभरेष्ट डिजिटल सिनेमा हल’ सञ्चालनमा आएको छ ।

दुई सय ६० सिट क्षमता भएको चलचित्र हलमा दुईवटा ३२–३२ सिटे क्याबिन, एसी, जेवीएल व्राण्डको डल्वी साउण्ड सिस्टम, एचडी प्रोजेक्टर, एलइडी लाइट जडान, हार्क नेष्ट अमेरिकी ब्राण्डको पर्दाबाट चलचित्र देखाइने बताइएको छ ।

वाह्रदशी–३ राजगढका चान्द महम्मद हुसेन, मुनाज हुसेन, मुन्ना हुसेन, मन्जर हुसेन र मुन्ताज हुसेनको लगानी रहेको चलचित्र हलको उद्घाटन प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले गरेका थिए ।

चलचित्र हलको उद्घाटन गर्दै सांसद लिङ्देनले दक्षिण क्षेत्रको सिङ्गो विकासका लागि आर्थिक क्षेत्रमा गरिएको लगानीले घाटा व्यहोर्नु नपर्ने बताए । उनले राजगढको विकासका लागि अझैं सुपरमार्केट, उद्योगधन्दा सञ्चालन गर्न सुझाव दिए ।

दक्षिण क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयत्न गर्ने बताउँदै उनले भने– स्थानीय सरकारले पनि युवालाई उत्साहित गर्दै व्यवसाय सञ्चालनको वातावरण तयार गर्न सके छिट्टै यस ठाउँको विकास हुन्छ । व्यवसायिक क्षेत्रमा केही समयसम्म कर नलिएर पनि युवालाई प्रोत्साहन गर्न सकिन्छ यसतर्फ गाउँपालिकाको ध्यान गए हुन्थ्यो ।’
कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंशी, वाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्वर गिरी, नेपाली कांग्रेसका युवा नेता भगीरथ पोद्दार, नेकपाका नेता पदम थापा लगायतले बोलेका थिए ।

चलचित्र हलका सञ्चालक हुसेनले विदेशको अनुभवबाट सिकेर स्वदेशमै लगानी गरेको र युवालाई रोजगारी समेत दिलाएको बताएका थिए । आगामी वर्षभित्र राजगढमै सुविधासम्पन्न सुपरमार्कट सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । जसका लागि भवन निर्माण भइरहेको कार्यक्रममा हुसेनले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन स्थानीय जनप्रतिनिधि प्रेमबहादुर घिमिरे र सञ्चारकर्मी लीला अनमोलले गरेका थिए । हलको उद्घाटनसंगै छक्का पञ्जा ३ प्रदर्शन गरिएको छ ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर