Aamsanchar

रेडक्रस युथ टिम झापाले हात धुने दिवस मनायो

Author Image
सोमवार, असोज २९, २०७५

बिर्तामोड ।

सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित सोमबार विश्व हात धुने दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाउने गरिएको छ । यसवर्षको दिवस हात धुने र खाना बीचको सम्बन्धमा केन्द्रित भई खाद्य स्वच्छता र पोषणसँग जोडिएको छ । हरेक पटक खाना खानु र खुवाउनु अघि तथा खानेकुरा पकाउनु र बाड्नु अघि सफा पानी र साबुनले हात धुन जोड दिइएको छ ।

यस्तै खानालाई सुरक्षित राख्न र सरुवा रोगको जोखिम कम गरी बालबालिकाको स्वास्थ तरिकाले हेरचाह गर्न पनि यसपालिको दिवसले जोड दिएको छ । सरसफाइ र खानेकुरामा ध्यान नदिँदा नेपालमा बर्से्नि झण्डै ५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क छ ।

खाना बनाउनु, बाँड्नु, खानु र खुवाउनु पहिले नियमित रुपमा साबुनपानीले हात धोएमा झाडापखालाबाट हुने बालबालिकाको मृत्यु आधाले, निमोनियाबाट हुने मृत्युलाई एक तिहाइले र सुत्केरीको समयमा हुने मृत्युलाई एक चौथाइले घटाउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपाल रेडक्रस सोसाईटी अनर्तगतको रेडक्रस युथ टिम झापाले मेचीनगर–१३ मा रहेको बाल बाटिका बोडिङ स्कुलमा एक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका ९० जना विद्यार्थीलाई प्रत्यक्ष प्रयोग विधि मार्फत नै हात धुन सिकाईएको थियो ।

युथ टिमका कोषध्यक्ष रिसभ ढकालको सभापतित्वमा भएको कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक विजय भट्टराईको प्रमुख आतिथय रहेको थियो । कार्यक्रममा त्रिदेव बहुमुखी क्याम्पसका शिक्षक रोहित बराल, प्रशिक्षक प्रतापबाबु जमरकट्टेल, रेडक्रसका मुना भट्टराई, सत्सङ्ग ढुङगाना, दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरुलाई सरसफाई सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरिएको र मायाको चिनो स्वरुप साबुन वितरण गरिएको थियो । कार्यक्रमको औचित्य माथि युथ टिमकै सचिव मुना मिश्रले प्रकाश पारेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन युथ टिमका सदस्य सबिन अधिकारीले गरेका थिए ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर