भद्रपुर ।



कसको सेटिङमा भइरहेको छ भद्रपुर नाकाबाट तस्करी । झापाका प्रहरी प्रशासन प्रमुखले तस्करी रोक्न सीमा क्षेत्रमा तैथान सुरक्षाकर्मीलाई तस्करसंग मिलोमतो गरेको पाइए विभागीय कारवाही गर्ने ठाडो आदेश दिएपनि भद्रपुर नाकामा अझै रोकिएन तस्करी गतिविधि ।
भन्सार छलेर भित्राउने तस्करीका सामानहरु प्रहरीकै सेटिङमा भित्रिने गरेको र सेटिङ नमिलेपछि त्यस्ता सामान बरामद हुन थालेको अहिले सर्वत्र चर्चा छ । विशेष गरी अहिले मेचीनगरको ज्यामिरगढीदेखि भद्रपुरको पृथ्वीनगर सम्मको नाकाबाट दिन र समय मिलाएर तस्करीको सामान भित्राइन्छ ।

यसैक्रममा शनिवार मध्यरातमा सशस्त्र प्रहरी बल नेपाल, गण नम्बर २ झापाबाट खटिएका सशस्त्र प्रहरी टोलीले भद्रपुर ५ स्थित नयाँ बजार नाकाबाट भित्राउन लागेको करिब १ लाख ५८ हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको छ । भन्सार छलेर भित्राउन लागेको ती सामान कसको भन्ने सशस्त्र प्रहरीले खुलाएन ।
बरामद गरिएको सामानमा तन्नाकपडा, कुर्तासुरुवा र टि सर्ट रहेको जनाइएको छ । बरामद गरिएको सामान आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइसकेको जनाइएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट केचनाले सोही नाकाबाट भित्राइएको पाँच वटा खशी बरामद गरेको छ ।
भारतबाट भित्राइएको उक्त खशीको मुल्य ३० हजार रहेको जनाइएको छ ।

