Aamsanchar

मुस्ताङमा पर्यटकको घुइँचो, एकै दिनमा चार हजार पुगे

Author Image
बिहिवार, कार्तिक ८, २०७५

पर्वत,

चिसो बढ्दै गए पनि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनको चाप बढ्दै गएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदा मात्र नभई यहाँको भूगोल र स्थानीय थकाली समुदायको संस्कृति अवलोकनका लागि मुस्ताङ धेरैको रोजाइमा पर्ने गरेको छ।

सोह्रश्राद्धमा धार्मिक पर्यटकहरुले भरीभराउ हुने मुस्ताङमा अहिले पनि दैनिक तीन हजारभन्दा बढी पर्यटकहरु जाने र सोही संख्यामा फर्किने गरेका छन्। मुस्ताङको घाँसा प्रहरी चेक पोस्टका अनुसार सोह्रश्राद्धका बेला करिब २० हजार पर्यटकहरु मुस्ताङ पुगेको थिए। यसका साथै दशैं, तिहार र छठ पर्वको समयमा मुस्ताङमा पर्यटकहरुको आगमन बढ्ने गरेको छ।

गत बुधबार मात्रै चार हजारको संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु मुस्ताङ भित्रिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटका अनुसार मुस्ताङ जाने पर्यटकहरुका कारण धौलागिरिको नाका डिमुवामा सवारीसाधनको चाप छ। उनले भने, ‘अहिले दैनिक ३०० मोटरसाइकल, २०० निजी र पर्यटक जिप र १०० ठूला बसहरु मुस्ताङ गइरहेका छन्।’

दशैं, तिहार र छठका बेला सरकारी तथा निजी कार्यालय, विद्यालय, क्याम्पसहरु बिदा हुने भएकाले यही समयलाई सदुपयोग गर्ने गरेका छन्। यसपछि मुस्ताङमा चिसो बढी शून्य डिग्री सेल्सियस तापक्रम पुग्ने भएकाले चिसोले नछोप्दै यही मौकामा घुम्न उपयुक्त हुने मुस्ताङ घुम्न जानेहरुको अनुभव छ।

बुटवलबाट मोटरसाइकलमै यात्रा गरेर मुस्ताङ भ्रमणमा हिँडेका रामबाबु क्षेत्रीले भने, ‘यो बेलामा अफिस पनि बन्द छ। अलि पछि मुस्ताङमा हिउँ पर्ने भएकाले यही बेलामा ठीक हुने भनेर समूहमा मोटरसाइकलबाट मुस्ताङ भ्रमणमा हिँडेका हौँ।’ मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुमध्ये अधिकांश युवा रहने गरेका छन्।

विशेषत विद्यालय तथा क्याम्पसमा पढ्ने, सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु हुने गरेको छन्। पर्यटकको आगमनले मुस्ताङका होटलहरु भरिभराउ छ। होटल व्यवसायी धारा गुरुङले भनिन्, ‘यो बेलामा मुस्ताङ सबै होटलहरु पर्यटकले भरिएका छन।’

मुस्ताङको मुक्तिनाथ क्षेत्र, कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, प्राचीनकालमा काँचो माटोले बनेका गुम्बा र घर, हिमश्रृङ्खला, मरुभूमिजस्तो ठाउँ, ठिनीमा रहेको ढुम्बा ताल, स्याउबारी विशेष आकर्षण हुन्। सन् २०१३ मा विश्व प्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले विश्वका १० उत्कृष्ट भ्रमणस्थलको सूचीमा उपल्लो मुस्ताङलाई समावेश गरेपछि घुमघाम मन पराउनेहरुका लागि मुस्ताङ गन्तव्यमा पर्दै आएको छ।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर