Aamsanchar

भूपू सैनिकहरु आन्दोलित बन्दै, सरकारको विभेदकारी निर्णय अमान्य

Author Image
बिहिवार, कार्तिक ८, २०७५

शान्तिराम बस्नेत/ शिवसताक्षी,

नेपाल सरकारले ज्येष्ठ नागरिक भत्ता कटौती गरेको विरोधमा झापा शिवसताक्षीका भूपू सैनिकहरु आन्दोलित बन्दै उक्त भत्ता कटौतीको निर्णय खारेजको माग गर्दै नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

सरकारको उक्त निर्णयका कारण भूपू सैनिकहरुले चालु बर्षको पहिलो चौमासिकको भत्ता पाएका छैनन् । ज्ञापनपत्र बुझाउन गएकी मध्ये शिवसताक्षी ११ की ८३ बर्षीया एकल महिला हेममाया तुम्रोकले दसैं अघि लिएको ८ हजार वृद्ध भत्ता नगरपालिकाको कर्मचारीले फिर्ता लगेको बताइन ।

कमजोर आँखा, लौरो र आफन्तको सहारामा नगरपालिका पुगेर सम्बोधन गर्दै उनले भनिन् ‘मैले सधैं पाउँदै आएको वृद्ध भत्ता लिएर घर आएको मात्र के थिए तुरुन्तै नगरपालिकाबाट एक कर्मचारी गएर मैलै पाएको भत्ताको पैंसा लिएर गयो’ । उनले नगरपालिकाको कर्मचारीले भूपू सैनिकको परिवारले वृद्ध भत्ता लिए, पाउँदै आएको पेन्सन सुविधा कटौती गरिदिने भनि धम्की दिएको समेत आरोप लगाइन ।

ज्ञापन पत्र बुझाउन अघि भुपु सैनिकहरुले एक कोण सभाको आयोजना गरि कानुन मिच्न पाइदैंन, एकल महिलाहरुको काटिएको भत्ता तत्काल फिर्ता गर, जनता ढाँट्न पाइँदैंन, चुनावका बेला दिएको आश्वासन पूरा गर जस्ता नाराहरु लगाउँदैं नगरपालिका प्रवेश गरेका थिए ।

ज्ञापन पत्र बुझाउने क्रममा शिवसताक्षी संघका अध्यक्ष नर बहादुर राईले ‘जेष्ठ नागरिकको हैसियतले पाउदै आएको सुविधा यो सरकारले कटौती गरेर हामीमाथि अन्याय गरेको छ’ सरकारले भत्ता कटौतीको निर्णय अविलम्ब फिर्ता लिनुपर्छ । होइन भने, हामी थप सशक्त आन्दोलनमा जान्छौं ।’

पेन्सन सुविधा पाउने भएकाले नेपाल सरकारले भूपू सैनिकहरुको वृद्ध भत्ता कटौतीको निर्णय गरेको राईले जानकारी दिए । उनले यो निर्णय विभेदकारी भएकाले सरकारले तत्काल फिर्ता लिनुपर्ने माग राखे ।

नगरभित्रका २ सयबढी भूतपूर्व सैनिकहरु भेला भएर नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा उनीहरुले तीन बुंदे माग राखेका छन् ।

जसमा भूपू सैनिकहरुले पाउँदै आएको वृद्ध भत्ता कटौतीको निर्णय खारेज गर्नुपर्ने, भूपू सैनिक एकल महिला भत्ता पनि नियमित पाउनुपर्ने र चुनावका बेला बाम गठबन्धनले वृद्ध भत्ता ५ हजार पु¥याउने भनि गरेको घोषणा कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । आन्दोलनको नेतृत्व संयुक्त भूत पूर्व सैनिक संघ शिवसताक्षी नगर समितिले गरेको हो । नगर समितिमा २ सय ४१ जना आवद्ध छन् ।

ज्ञापनपत्र बुझ्दै उपप्रमुख नेपालले भूपू सैनिकहरुको माग सम्बोधन भइसकेको बताइन । उनले भूपू सैनिकहरुको सामाजिक सुरक्षा भत्ता कटौतीको निर्णय सरकारले फिर्ता लिइसकेको जानकारी दिइन । उनले माग सम्बोधन भइसकेकाले सबै भूपू सैनिकहरुले नियमअनुसार वृद्ध भत्ता पाउने आश्वासन पनि दिइन ।

यता एक भुपु सैनिकले सरकारले गत असोज २१ गते नै सरकारले उक्त सम्बोधन गरेको भएको पनि यत्तिका दिनसम्म कुनै सुइको नदिई हामी आन्दोलित भएपछि बिहिबार मात्रै सो कुरा बोल्नुमा शिवसताक्षी नगरपालिकाको गम्भीर षडयन्त्र भएको रोस प्रकट गरेका छन् ।

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर