Aamsanchar

सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छ : नेता सिंह

Author Image
शनिवार, कार्तिक १०, २०७५

काठमाडौँ,

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले समयअनुसार सबैलाई समेट्नेगरी विधान संशोधन गर्ने बताउनुभएको हो । “सिङ्गो जनतालाई बेवास्था गरेर कुनै नेताका व्यक्ति अट्ने गरी विधान संशोधन गर्न हुँदैन,”–उहाँले भन्नुभयो ।

पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले प्रजातान्त्रिक पद्धति अवलम्बन गरेको काङ्ग्रेस प्रजातान्त्रिक तरिकाले चल्न नसकेको आरोप लगाउनुभयो । “पार्टी विधि, विधानअनुसार चल्न सकेको छैन, विधानअनुसार पार्टी चल्न नसक्दा कमजोर भएको हो,”–उहाँले भन्नुभयो ।

काङ्ग्रेस नेता अर्जुनरसिंह केसीले अधिनायकवादी प्रवृत्तिले काङ्ग्रेस चल्न नसक्ने बताउनुभयो । “नेता होइन नीति, व्यक्ति होइन विचार काङ्ग्रेसभित्र आवश्यक छ,”–उहाँले भन्नुभयो ।
काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काठमाडौँ काङ्ग्रेसको सङ्गठन बलियो बनाउनका लागि आफू लागिरहेको बताउनुभयो । उहाँले काङ्ग्रेस अहिले लथालिङ्ग अवस्थामा पुगेको भन्दै यसलाई एकढिक्का बनाउनका लागि नेता लाग्नुपर्ने विचार राख्नुभयो ।

प्रदेश सांसद जीवन डङ्गोलले पार्टीले युवामुखी कार्यक्रममा जोड दिएमात्र आगामी दिनमा राम्रो जित हासिल गर्नसकिने बताउनुभयो । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पार्टीभित्र प्रशिक्षणको खाँचो रहेको औँल्याउनुभयो ।

काङ्ग्रेस टोखा नगरपालिका– १० का अध्यक्ष तेजप्रसाद सेडाईंको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ काङ्ग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, काठमाडौँ महानगरपालिका– २६ का अध्यक्ष ख्यामराज तिवारी, काङ्ग्रेस टोखा नपाका अध्यक्ष वसन्त श्रेष्ठ, टोखा नपा– ११ का वडाअध्यक्ष उत्तम अधिकारीलगायतले पार्टीभित्र देखिएको गुटबन्दीलाई अन्त्य गरी सुधारको बाटोमा अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

Views: 283

प्रतिक्रिया (०)