Aamsanchar

नेपथ्यको ३९०० टिकट विक्री, अब ११०० मात्र बाँकी

Author Image
शुक्रवार, कार्तिक १६, २०७५

बिर्तामोड।

आगामी मंसीर ४ गते झापाको बिर्तामोडमा हुने चर्चित सांगीतिक व्याण्ड नेपथ्यको कार्यक्रमका लागि ३९०० टिकट विक्री भइसकेको छ । नेपथ्य व्याण्डको उत्कृष्ट सांगीतिक प्रस्तुति हेर्नका लागि कार्यक्रमको मिति भन्दा १९ दिन अगावै उक्त संख्याको टिकट विक्री भइसकेको बताइएको छ ।

सहारा नेपाल र पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालनका लागि नेपथ्य व्याण्डको प्रस्तुति गर्न लागिएको हो । उक्त सांगीतिक प्रस्तुतिकै अवसरमा महाअभियान सञ्चालनको घोषणा हुने बताइएको छ ।

बिर्ताबजारस्थित डोमालाल रंगशालामा हुने कार्यक्रमका लागि ५००० थान टिकट मात्र विक्री गरिनेछ । अब आयोजकसँग ११०० थान टिकट मात्र बाँकी रहेको जनाइएको छ । साँझ ठीक ४ः४५ बजे शुरु हुने कार्यक्रम २ घण्टासम्म सञ्चालन हुने छ । कार्यक्रमको एकघण्टा अघिबाट काउनडाउन शुरु हुने जनाइएको छ ।

सडक दुर्घटनालाई न्यूनीकरणका लागि महाअभियान सञ्चालन गर्ने र त्यसको सन्देश सामुहिक रुपमा प्रवाह गर्न नेपथ्य व्याण्डको सांगीतिक प्रस्तुति राखिएको मूल आयोजक समितिका संयोजक तथा सहारा नेपालका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमारी गिरीले बताए । सडक दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश मानिस युवा उमेरको रहेकाले उनीहरुलाई नै लक्षित गरी सांगीतिक कार्यक्रममार्फत सकारात्मक सन्देश प्रवाह गर्दै महाअभियान अघि बढाउन लागिएको गिरीको भनाइ छ ।

दुर्घटना न्यूनीकरण महाअभियानलाई चार चरणमा विभाजन गरिएको छ भने त्यसका लागि ५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा नेपथ्य व्याण्डको सांगीतिक प्रस्तुतिका लागि ६० लाख खर्च हुनेछ । दोस्रो चरणमा ट्राफिक प्रहरी कार्यालयलाई सामग्री हस्तान्तरण गरिनेछ ।

जसअन्तर्गत तीन लाख मूल्य प्रतिगोटाका १० थान मोटरसाइकल, एक लाख ५० हजार मूल्य प्रति थानको १० थान ब्रेथ लाइजर, सात लाख मूल्य प्रतिथानको दुई थान ¥याथर गन, तीन लाख ५० हजार मूल्य प्रतिथानको जेब्राक्रस मार्किङ मेसिन तीन थान तथा वाकिटकी लगायतका सामग्री प्रदान गरिने संयोजक गिरीले जानकारी दिए । उक्त सामग्रीको कूल मूल्य ६० लाख पर्ने छ । अहिलेसम्म विभिन्न बैंक लगायतका संस्थाबाट सात थान मोटरसाइकल प्राप्त भइसकेको जनाइएको छ । महाअभियान अन्तर्गत तेस्रो चरणमा सचेतना अभियान सञ्चालन गरिनेछ ।

जसअन्तर्गत ५० वटा होर्डिङ बोर्ड, २० हजार स्टीकर, एक लाख थान पर्चा पम्पलेट वितरण तथा अन्य चेतनामूलक भिडियो सामग्री उत्पादन गरिनेछ । उक्त अभियानको लागत २० लाख रुपैयाँ अनुमान गरिएको छ । महाअभियान अन्तर्गत चौथो चरणमा स्थानीय गाउँपालिका, नगरपालिका तथा प्रदेश सरकारसँगको साझेदारीमा १ नं. प्रदेशका अति आवश्यक स्थानहरुमा ट्राफिक लाइट र सीसी क्यामेरा जडान गरिनेछ । जसको लागत तीन करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।

महाअभियान अन्तर्गत ५००० थान टिकट प्रतिगोटा १००० का दरले विक्रीबाट प्राप्त हुने ५० लाख रुपैयाँ तथा २५ हजारदेखि ५० हजार रुपैयाँसम्मको सहयोग समेत आयोजकले जुटाइरहेको छ । त्यस बाहेक आयोजक सहारा नेपाल तथा दुई वटा मुख्य प्रायोजक (सिंगापुर वेभरेज र मगमग चाउचाउ)बाट १५ लाख रुपैयाँ जुटाउने तयारी गरिएको छ ।

‘सडक दुर्घटना न्यूनीकरणका लागि चेतना जागरण अभियानको शुरुवात भव्य रुपमा गर्दैछौं’– महाअभियानको उद्देश्य वारे प्रष्ट्याउँदै संयोजक गिरीले भने– ‘१ नम्बर प्रदेश ट्राफिक प्रहरीलाई प्रविधियुक्त सामग्री उपलब्ध गराउँदै यातायात व्यवस्थापनमा सहयोग पु¥याउनेछौं ।’ मुलुकको सात प्रदेशमध्ये सबैभन्दा धेरै सडक दुर्घटना प्रदेश नं. १मा हुने गरेको तथ्यांक छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपालमा बार्षिक सरदर दुई हजार मानिसको मृत्यु सडक दुर्घटनाकै कारण भइरहेको छ । विश्वमा सरदर प्रति ६ सेकेण्डमा सडक दुर्घटनाबाट एक जनाको मृत्यु हुने गरेको छ भने नेपालमा हुने कूल मृत्युको चौथो कारण र अपाङ्गताको तेस्रो कारण सडक दुर्घटना बनिरहेको छ ।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर