बिर्तामोड ।

झापालाई माघ १ गतेदेखि मदिरा नियन्त्रित जिल्ला बनाउन पहल थालिएसंगै बिस्तृत कार्य योजनाका लागि प्रमुख कर अधिकृत बोलराज आचार्यको संयोजकत्व ११ सदस्यीय समिति गठन भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय झापामा बसेको वैठकले आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । गठित समितिले जिल्लालाई मदिरा नियन्त्रित बनाउन सचेतना फैलाउने, आवश्यक छलफल गराउने, अनुरोधका लागि पत्राचार गर्न, तथ्याङ्क संकलन गर्ने, बिद्यमान कानूनबारे सचेतना फैलाउने तथा मदिरा नियन्त्रणसँग सम्बन्धित कानूनलाई कार्यान्वयन गर्ने समेतका बिषयमा बिस्तृत रुपमा कार्य योजना बनाएर १५ दिन भित्र प्रतिवेदन जिल्ला प्रशासन कार्यालय झापामा पेश गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिमा पंकज शर्मा– महासचिव उद्योग बाणिज्य संघ झापा, ओजेश ओली सशस्त्र प्रहरी नायव उपरीक्षक– सशस्त्र प्रहरी बल झापा, प्रेम पाण्डे – अध्यक्ष मदिरा व्यवसायी संघ माईपारी झापा , गोकुल हुमागाई – उपाध्यक्ष मदिरा व्यवसायी संघ माईपूर्व झापा , गोपाल लिम्बू – शाखा अधिकृत जिल्ला समन्वय समिति झापा ,देवराज कार्की – शाखा अधिकृत बिर्तामोड नगरपालिका झापा ,लक्ष्मीप्रसाद खरेल – शाखा अधिकृत जिल्ला प्रशासन कार्यालय झापा , प्रदिप कट्टेल – कर अधिकृत आन्तरिक राजश्व कार्यालय झापा सदस्य रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका महेन्द्रकुमार श्रेष्ठ सदस्य सचिव रहेको बताइएको छ ।

झापालाई माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणाका लागि जिल्ला प्रहरी कार्यालय झापा र १५ वटै स्थानीय निकायले १२ वुँदे घोषणा पत्र जारी गरिसकेका छन् ।

