Aamsanchar

गुरुयोजना बनाई समृद्धिको मार्गमा लाग्न अर्थमन्त्रीे खतिवडाको सुझाव

Author Image
शनिवार, कार्तिक १७, २०७५

काठमाडौँ, 

अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याउनुभएको छ । गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न उहाँले संस्थानका पदाधिकारीलाई सुझाव दिनुभयो । संस्थानको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले इतिहासको धरोहर गुठी संस्थानको अस्तित्व जोगाउँदै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“सामाजिक पूँजी समृद्धिको महत्वपूर्ण आधार हो”, अर्थमन्त्री खतिवडाको भन्नुभयो “गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पु¥याउनुपर्छ, यसतर्फ तपाईहरुको ध्यान जाओस् ।” उहाँले सम्पत्ति जगेर्नाको नाममा आयआर्जन नगरी बस्नु विडम्बना हो भन्दै संस्थानको विकासका लागि छलफल गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

सरकारले गुठी संस्थानको मुआब्जा रकम नदिएको भन्ने प्रसङ्गलाई ईंकित गर्दै अर्थमन्त्री खतिवडाले परम्परागत संस्कृति संरक्षणसँगै आधुनिक विकासमा जान चुनौती रहेको बताउनुभयो । “सरकार दुईवटै कार्यलाई सँगसँगै लैजाने योजनामा छ, कतै सरकारले त कतै गुठीले सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गुठी संस्थानलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै समग्र सम्पत्ति उपयोगको रणनीतिक योजना बनाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा गुठी संस्थानका प्रशासक नारायण चौधरीले संस्थानको वार्षिक गतिविधिबारे जानकारी गराउँदै ऐन संशोधनका लागि बनेको विनियम मन्त्रालयमा अड्किएको बताउनभयो । यसका लागि सहजीकरण गर्न उहाँले अर्थमन्त्री खतिवडा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव मैनालीसँग अनुरोध गर्नुभयो ।

सरकारले दिनुपर्ने मुआब्जा रकमसमेत उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा भूमाफियाले जग्गा अतिक्रमण गरेको तथा कर्मचारीको अभावमा प्रभावकारी काम गर्न नसकिएको चौधरीले स्वीकार्नु भयो ।

संस्थानका अध्यक्ष मीनराज चौधरीले विभिन्न समस्याका बाबजुद संस्थानले काम गर्दै आएको जानकारी दिनुभयो ।
संस्थानले गएको वर्ष रु ३७ करोड ४५ लाख आम्दानी गरी रु २४ करोड एक लाख खर्च गरेको जनाएको छ । पच्चीस वर्ष काम गरेका संस्थानका कर्मचारीलाई आज दीर्घसेवा पदक प्रदान गरिएको थियो भने संस्थानको हितमा काम गर्ने विभिन्न व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थानको वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान, सरसफाइ कार्यक्रम र हाजिरीजवाफ प्रतियोगिता गरिएको महासचिव दीपकबहादुर पाण्डेले जानकारी दिनुभयो ।

Views: 187

प्रतिक्रिया (०)