Aamsanchar

घुम्ती शिविरबाट पाँच सय लाभान्वित

Author Image
आइतवार, कार्तिक १८, २०७५

म्याग्दी, 

म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जामा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट ५०० जना सर्वसाधारण लाभान्वित भएका छन् ।

भौगोलिक विकटता र गरीबीका कारण सदरमुकाम आएर सार्वजनिक सेवा लिनबाट बञ्चित भएका गुर्जावासीलाई लक्षित गरेर धवलागिरि गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा ५०० जनाले जग्गाधनी पुर्जा, नागरिकता, नापीको कित्ताकाट र नक्सा देखाउने, स्वास्थ्य उपचार र अपाङ्गता परिचयपत्रका लागि सिफारिश सेवा लिएका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ८६ जनालाई नागरिकता वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार नापी कार्यालयको टोलीले १५० जनालाई जग्गाको कित्ताकाट र नक्सा पहिचान गरेर देखाउने सेवा दिएको छ ।

४० जनालाई जग्गाको नामसारी र अंशबण्डासम्बन्धी सेवा दिइएको शिविरमा उपस्थित मालपोत अधिकृत मुकुन्द पौडेलले बताउनुभयो । उहाँका अनुसार २५ नामसारी र ३० संशोधनसम्बन्धी सेवा दिइएको छ ।

बेनी अस्पतालका चिकित्सक बिराट शर्माको टोलीले १५० जनालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा दिएको थियो । महिला तथा बालबालिका कार्यालयको टोलीले नौ जनालाई अपाङ्गता परिचयपत्र वितरणका लागि सिफारिश गरेको छ ।

Views: 226

प्रतिक्रिया (०)