Aamsanchar

बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित

Author Image
बुधवार, कार्तिक २१, २०७५

पाल्पा, 

टुकीको भरमा रात बिताउनेले पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।

वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत् विस्तारसँगै उनीहरुको अँध्यारोमा रात बिताउनुपर्ने समस्या टरेको छ । तिनाउ गाउँपलिकाको ६७ लाख ७४ हजार आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण पाल्पाको प्राविधिक सहयोगमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित बोङरी टोलमा विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीयवासी अनिल कनौजेले नौ वर्षअघिदेखि गाउँमा विद्युत् ल्याउने सपना पूरा भएको बताउनुभयो । विद्युत्को सुविधाले रेडियो, मोबाइल, टेलिभिजनको पहुँचमा सहज भएको छ ।

वर्षौंसम्म टुकीको भरमा बस्नुपरेको पीडालाई बिर्सेर गाउँमा विद्युत्को उज्यालोमा पढ्न पाउने भएपछि स्कुले बालबालिकादेखि वृद्ध तथा युवासमेत खुशी देखिएका छन् ।

विद्युत् विस्तारले बोङरी टोलमा १३७ घरधुरीमध्ये ६४ घरपरिवारमा विद्युत् जडान गरी बत्ती बालेका छन् । बस्ती नै उज्यालो बनेपछि स्थानीय बासिन्दा खुशी बनेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो ।

महङ्गो मट्टितेल खरिद गरी टुकीका भरमा रात बिताउँदा स्थानीयवासीमा स्वास्थ्य समस्या हँुदै आएको थियो । विद्युत् विस्तारसँग कुटानीपिसानी मिल, फर्निचर उद्योग, खाना पकाउन, साना उद्योग सञ्चालनमा सहज भएकोे उनीहरुको भनाइ छ । विद्युत् अभावका कारण सानातिना कामका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेपछि अहिले स्थानीयवासी खुशी भएका छन् ।

बोङरी टोलमा अधिकांश मगर समुदायको बसोेबास छ । तिनाउ गाउँपालिकाको दुर्गम मानिने सो टोलमा विद्युतीय सेवाकोे पहुँचले जनताको जीवनस्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण पाल्पाका प्रमुख रामु श्रेष्ठले जनताको निरन्तर प्रयासका कारण गाउँबस्ती उज्यालो बनेको बताउनुभयो ।

Views: 211

प्रतिक्रिया (०)