Aamsanchar

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

Author Image
बिहिवार, कार्तिक २२, २०७५

दमौली,

एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ ।

व्यास नगरपालिका–५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले बताउनुभयो ।

मङ्गलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाले जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ ।

बाँध जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गाका लागि आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रु नौ लाख ५० हजारदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ ।

पहिरोमा परेको जग्गाको मुआब्जा प्रतिरोपनी रु दुई लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन तथा बाँध निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाखको सम्झौता भएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण, विभिन्न उपकरण आपूर्ति, जडान तथा सञ्चालनका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग रु तीन अर्ब ८३ करोड १४ लाखको सम्झौता भएको छ ।

Views: 352

प्रतिक्रिया (०)