पार्थ मण्डल / भद्रपुर ।



नेपाल भारतको सीमावर्ती नाकासँग जोडिएको झापाको भद्रपुरस्थित मेची नदीमा मनाइने छठ पर्वको तयारीलाई तीव्र बनाइएको छ। भारतको बंगाल तथा विहार गरी दुई राज्यसँग जोडिएको भद्रपुरस्थित मेची नदीको छठ पर्वलाई भव्यता दिन अहिले दुवै देशका भक्तजन सामूहिक तयारीमा जुटेका छन्।

कार्तिक २७ गते बेलुका अस्ताउँदो र कार्तिक २८ गते विहान उदाउँदो सूर्यलाई अर्घ दिइँदै मनाइने छठ पर्वलाई भव्यता दिन मेची नदीमा मैथिली समाज भद्रपुर, युनिक समूह भद्रपुर, भद्रपुर नगरपालिकासहित छठ पर्व मनाउने भक्तजनहरू पूजास्थल देखि सडक, विजुली, बाँसे पुल, सरसफाइ, खानेपानी, सुरक्षा विट, स्वागत गेट, हेल्प डेक्स निर्माणलगायत व्यवस्थापनमा जुटेका छन्। जनकपुरपछि प्रदेश एकमै पहिलो स्थान ओगटन सफल मानिएको भद्रपुरको मेची नदीलाई बेहुलीझै सिंगारिदै छुट्टै रौनकता दिन नगरबासी १५ दिनअघि देखि नै तयारी व्यवस्थापनमा लागि परेका हुन्।

भद्रपुर ५ स्थित मेची किनारदेखि देवीबस्ती सम्मको करिब दुई किलोमिटर लामबद्ध क्षेत्रमा नदीको दुवैपट्टि नेपाल र भारत गरी करिब ५ हजार बढी पूजास्थल बनाएर छठ पर्व मनाइँदै आइरहेको छ। यहाँ मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रुपमा पहाडी, मारबाडी, बंगाली, राजवंशी, मुस्लिम लगायतका समुदायले एकसाथ मेची नदीमा छठ पर्व मनाउँदै आएका छन्। समाजका पदाधिकारीसहित भक्तजनले पूजास्थलमा पण्डाल बनाउने, बिजुलीबत्ती जडान गर्ने, सरसफाइ, खानेपानी लगायतका काममा जटुेको मैथिली समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए।
‘यहाँ मनाइने छठ पर्वको नेपालमै छुट्टै पहिचान छ’, उनले भने, ‘दुवै देशका भक्तजनहरू एक साथ यसै नदीमा छठ मनाउन आउने गरेकाले यसलाई सफलतापूर्वक भव्यता दिन अहिले समाज लागि परेको छ।’ स्थानीय निकाय तथा सुरक्षा निकायसँग सहकार्य गरी अहिले धमाधम पूजा स्थलमा आवश्यक पूर्वाधार निर्माण भइरहेको बताउँदै उनले भने, ‘ब्रतालु र भक्तजनको सेवा सुविधाका लागि मेची नदीको धार परिर्वतनदेखि अस्थायी बाँसे पुल, सडक निर्माण कार्य भद्रपुर नगरपालिकाको सहयोगमा भइरहेको छ।’ समाजको करिब ५ लाख बजेटमध्ये बिजुली जडानका लागि मात्र दुईलाख २५ हजारमा ठेक्का दिएको उनको भनाई छ।
त्यस्तै युनिक समूहले देवीवस्ती क्षेत्रमा पण्डालसहितको घाट व्यवस्थापन गरी बिजुलीबत्ती जडान कार्यमा व्यस्त देखिएको छ। ब्रतालु तथा भक्तजनको परिवारलाई लक्षित गरी युनिक समूहले २० दिन अघि देखि नै सुविधासम्पन्न घाट व्यवस्थापनमा जुटेको समूहका सचिव प्रदीप राजवंशीले बताए। करिब एक लाख ५० हजार रुपैयाँ बजेट रहेको समूहले सो क्षेत्रमा पण्डालसहितको घाट निर्माण गरेको छ।
गरिब तथा असहाय परिवारलाई सहुलियत वा निशुल्क घाट उपलब्ध गराउनुका साथै अन्य परिवारसँग ५०० लिने उनले बताए। साथै भक्तजनलाई मनोरञ्जन दिन छठ पर्वको दिन स्थानीय कलाकारको सहयोगमा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने समूहका अध्यक्ष नारायण राजवंशीले जानकारी दिए। भद्रपुरको छठमा झापाका विभिन्न स्थानीय तहसहित छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनको घुँइचो लाग्ने गरेको छ।
मेची नदीमा फेरि अस्थायी बाँसे पुल
मेची नदीमा पक्की पुल निर्माण भए पनि छठ पर्वमा भक्तजनहरूको सुविधालाई मध्यनजर गरी भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा मैथिली समाजले अस्थायी बाँसे पुल निर्माण गरेको छ। नदीको एका पट्टि निर्माण गरिने पूजास्थल अपुग भएपछि भक्तजन नदीको अर्का पट्टि जाने गरेकाले अस्थायी बाँसे पुल बनाइएको समाजका अध्यक्ष रमेशचन्द्र झाले बताए।
मेची नदीले प्रत्येक वर्ष आफ्नो धार परिवर्तन गर्दा तयारी व्यवस्थापनमा केही समस्या उत्पन्न हुने गरेको छ। तयारीलाई सहज बनाउन भद्रपुर नगरपालिकाले जेसीभी र ट्याक्टर प्रयोग गरी धमाधम नदीमा पूजा स्थलदेखि सडक बनाउने काम समेत गरिरहेको भद्रपुर नगरपालिका ५ का वडा अध्यक्ष बन्धु कार्कीले बताए।
साथै नगरपालिकाले अस्थायी बाँसे पुल निर्माणका लागि एक लाख २८ हजार बजेट बिनियोजन गरेको छ। मेची नदीको सीमाना वडा ५ मै जोडिएकोले यस साझा पर्वलाई सभ्य र भव्य बनाउन भद्रपुर नगरपालिकासँगै वडा कार्यालयले पनि सहयोग गर्दै आइरहेको उनको भनाई छ। ‘भद्रपुरमा छठ पर्व जस्तो अरु कुनै यस्तो वृहत मेला लाग्दैन’, उनले भने, ‘त्यसैले स्थानीय निकाय पनि यसको व्यवस्थापनको पाटोमा लागि परेको छ।’
गत वर्ष पनि मेची नदीमा अस्थायी बाँसे पुल निर्माण गरिएको थियो। छठ पर्वको बेलुका कै दिन भक्तजनहरूको आवत-जावत गरिरहेका बेला पुल भत्किँदा समस्या उत्पन्न भएको थियो। त्यसैले बाँसे पुललाई मजबुत बनाउन नगरबासीको आग्रह छ।
यस्तो छ सुरक्षा योजनाको तयारी
५० हजार भन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको छठमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन दुवै देशका सुरक्षा निकायले आआफ्नो सुरक्षा योजना बनाएको छ। नेपाल भारतको सीमावर्ती क्षेत्रमा छठ पर्व मनाइने भएकोले दुवै देशका सुरक्षा निकायलाई चुनौती थपिएको छ।
छठ पर्वलाई भव्यरहित वातावरणमा सम्पन्न गराउन भद्रपुरमा सुरक्षा सतर्कता चुस्त दुरुस्त बनाइने वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीको सहकार्यमा छठ पर्वका दिन मेची नदीमा २५० बढी सुरक्षाकर्मी परिचालन हुने छ। नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी १५०, सशस्त्र प्रहरी १०० परिचालन हुने छ। साथै भारतीय एसएसबी र प्रहरी पनि परिचालन हुनेछ।
‘मेची नदीमा आउने दुई वटा मुख्य बाटो रहेकोले ट्राफिक व्यवस्थापनमा केही चुनौती छ, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जवेगुले भने, ‘भद्रपुर भन्सार गेट अगाडि र देवीबस्तीको पशुपति प्रावि अगाडिबाट भक्तजन र ब्रतालु आउने सवारीसाधन बाहेक अन्य कुनै पनि सवारीलाई प्रवेश गर्न दिइने छैन।’ ‘अन्य सवारीसाधनका लागि भद्रपुर मावि र पशुपति प्रावि पार्किङस्थल बनाइने छ, उनले थपे।
छठ पूजा स्थलमा हुन सक्ने संभावित आपराधिक तथा उच्छृंखल गतिविधि रोक्न विभिन्न २९ स्थानमा प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक जवेगुले बताए। त्यसभित्र पैदल गस्ती तथा सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने छ। साथै भक्तजनहरुको सुरक्षालाई मध्यनगर गरी छठमा पहिलो पटक प्रहरीले हेल्प डेक्स समेत राख्ने उनले बताए।
यता भारतीय एसएसबीका प्रहरी निरीक्षक विजय उल्लुले छठ पर्वमा हुने सक्ने सीमा लगायत अन्य अपराधिक गतिविधि रोक्नका लागि नेपालको प्रहरीसँग सहकार्य गरी एसएसबी परिचालन गरिने बताए। सुरक्षा योजनाका लागि उनले आफैँ पूजास्थल अनुमगन गरेर गएका छन्।
एक लाखलाई निःशुल्क चिया
भक्तजनको सेवासुविधालाई मध्यनजर गर्दै नेत्र ज्योजि समाज भद्रपुर, मुना चिया र युनिक समूहले तीन स्थानमा निशुल्क चिया तथा पानी वितरण गर्ने भएको छ । बेलुका र विहान गरी यसबर्ष एक लाख भक्तजनलाई चिया खाउने लक्ष्य राखिएको नेत्र ज्योति समाजका अध्यक्ष माणिक रायले जानकारी दिए ।
समाजले प्रत्येक बर्ष यसरी नै झत्तजनहरुलाई निशुल्क चिया तथा पानी वितरण गर्दै आइरहेपछि गतबर्षदेखि मुना चिया र युनिक समूहले पनि यसै कार्यक्रमलाई निरन्तरता दिन थालेको हो।
मेची पुलमाथि आवतजावतमा रोक
छठ पर्वको दिन मेची पुलमाथिबाट चल्ने दुई तथा तीन पाङग्रे सवारीसाधनलाई रोक लगाइने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए। छठ पर्वमा भक्तजनको घुँइचोलाई मध्यनजर गरी त्यस्ता सवारी साधन आवतजावतमा रोक लगाउने लागेको उनले बताए।
कार्तिक २७ गते बेलुका ३ बजेदेखि नै छठ मेला सुरु हुने भएपछि त्यसको केही समयअघि देखि मेची पुलमा सवारीसाधन रोक्ने छौ, उनले भने, ‘पैदलयात्रीलाई भने कुनै रोक लगाइने छैन। मेची पुलमा यसवर्ष भक्तजनको घुँइचो लाग्ने संभावनालाई लक्षित गरी पुलमाथि पनि प्रहरी परिचालन गरी भीडलाई नियन्त्रण गर्नेछौँ।

