Aamsanchar

माछापालनबाट मनग्य आम्दानी

Author Image
सोमवार, कार्तिक २६, २०७५

बनेपा,

पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्कनुभएका तामाङले गाउँमै व्यवसाय गर्न थाल्नुभएको हो ।

एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित ट्राउट माछापालनमा काम गर्नुहुन्थ्यो । अहिले तामाङ आफैँले सहकारी संस्थालाई वार्षिकरूपमा रकम बुझाउने गरी माछापालन गरिरहनुभएको छ । “यहाँ काम गर्न सकेमा विदेशको जतिकै कमाउन सकिन्छ,” उहाँले भन्नुभयो । अहिले हप्तामा ७० देखि ८० किलोसम्म माछा बिक्री हुन्छ । बाह्रैमास माछा उत्पादन तथा बिक्री हुनेगरेको छ । “मासिक रु चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्छ,” तामाङले भन्नुभयो ।

तामाङले मलेसियामा दुई वर्ष तथा कोरियामा झण्डै पाँच वर्ष काम गर्नुभयो । तामाङले गाउँमै होटल व्यवसायसमेत सञ्चालन गर्नुभएको छ । माछा बिक्री गर्न होटल सञ्चालन गरेको तामाङले बताउनुभयो । “माछा होटलमै पकाएर खानेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

माछा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री हुन्छ । सो काममा उहाँका दाजुले सघाउँदै आउनुभएको छ । “वार्षिक साढे दुई टन माछा उत्पादन हुन्छ,” तामाङले भन्नुभयो, “झण्डै पाँच टनको माग आउँछ, यहाँको उत्पादनले पाँच महीना धान्छ ।” उहाँले ६ पोखरीमा माछापालन गर्दै आउनुभएको छ ।

यहाँको उत्पादन काठमाडाँैमा समेत बिक्री हुने गरेको छ । माछाका भुरा नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याउने गरेको तामाङले बताउनुभयो । माछाको एउटा भुराको मूल्य रु १५ देखि रु २० पर्छ । मानेदोभान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामहरि सापकोटा संस्थालाई तामाङले वार्षिक रु दुई लाख ८० हजार बुझाउने गरेको बताउनुहुन्छ ।

Views: 209

प्रतिक्रिया (०)