बिर्तामोड।

बिर्तामोड नगरपालिका–२ रोयल पार्टी प्यालेस नजिकै अलपत्र परेर वृद्धाश्रममा राखिएका सुस्तश्रवण भएका एक व्यक्तिले आफन्त भेटेका छन् ।

स्थानीय रामबहादुर बोहोरा, गोपाल सुवेदी र इन्द्रकला गौतमको पहलमा ४२ वर्षीय हनुमान गेलालले हराएको चार दिनपछि आफन्त भेटेका हुन् । दमक– ७ घर भएका उनी भाइटीकाको दिन बिहान देउसी खेल्न घरबाट हिँडेका थिए ।

सोही क्रममा उनी वेपत्ता बनेको उनकी बहिनी उषा गेलालले बताइन् । उनले भनिन्– दाइटीकाको दिन बिहान आमाले नहिँड्नु भन्दाभन्दै घरबाट हिँड्नु भएछ, म पनि घरमा थिइनँ, बेलुका सम्मपनि दाइ घर नफर्कदा प्रहरीलाई समेत जानकारी गराउँदै उहाँको खोजी गर्यौ, तर उहाँको कतै पत्तो लागेको थिएन ।’

दमक प्रहरीलाई पटक–पटक जानकारी गराउँदा पनि वास्ता नगरेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा दाइलाई आश्रममा राखिएको विदेशबाट खबर आयो– उनले भनिन्– ‘नभन्दै बिर्तामोड आउँदा दाइ भेटिनुभयो, दाइ अलपत्र परेको समाचार आएको रहेछ, त्यो हेरेर विदेशबाट हामीलाई खवर आउँदा हर्षले आँशु नै झरे ।’
बोल्न नसक्ने व्यक्ति शनिवार बिहान भेटिएको र आफन्त खोज्दा कतै फेला नपरेपछि स्थानीय बोहोरा, गौतम र सुवेदीले उनलाई सहारा दिँदै प्रहरीसहित पूर्वाञ्चल दैनिकलाई समेत जानकारी गराएका थिए । पूर्वाञ्चल दैनिकले जानकारी पाए लगत्तै उनी भेटिएको ठाउँमा पुगेर उनको विषयमा समाचार प्रकाशन गरेको थियो ।
सोही समाचारको आधारमा उनका आफन्तले गेलाललाई भेटेका हुन् ।
बोल्न नसक्ने गेलाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कृष्ण कोइराला र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईको पहलमा बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा राखिएको थियो । उनलाई उनका आफन्त बहिनी उषा र भाइ अनिल पौडेलले आश्रमबाट जिम्मा बुझेर लगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कोइरालाले जानकारी दिए ।
बोल्न नसक्ने एक ब्यक्ति बिर्तामोडमा अलपत्र, आफ्न्त पत्ता नलाग्दा वृद्धाआश्रममा शरण

