Aamsanchar

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

Author Image
मङ्गलवार, कार्तिक २७, २०७५

झापा ।

छठ पर्वको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरिएको छ । झापासहित तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिएका छन् ।

छठ पर्वका लागि झापाका मेची, निन्दा, बिरीङ, कनकाई, रतुवा लगायतका नदीका साथै विराटनगर, राजविराज, जनकपुरधाम, वीरगञ्जसहित काठमाडौं उपत्यकाको गुहेश्वरी, गहनापोखरी, कमलपोखरी लगायत बागमती, नख्खु र विष्णुमती सहितका नदी किनारमा विशेष सजावट गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

छठ पर्व गत आइतबार शुरु भएको हो । छठले सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने व्याख्या गरिएको छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सो गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको बिश्वास छ ।

छठ पर्वमा व्रत बसे सन्तान सुख प्राप्त हुने तथा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ । लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार साँझ एवं चौथो दिन भोली बुधबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित पुगेपछि ब्रतालु एवं परिवारजनले सूर्यलाई अर्घ दिन्छन् ।

आज विशेषगरी गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट गुलियो खाद्य सामग्री बनाइन्छ । आजै अन्नबाहेक फलफूल, ठेकुवा, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा चढाउने गरिन्छ ।

भोलि बिहान अर्थात पर्वको अन्तिम दिन पार्वण गरिन्छ । बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 454

प्रतिक्रिया (०)

सम्बन्धित खबर