Aamsanchar

ऐतिहासिक ठुटेवर मेलाले निरन्तरता पाउदैं

Author Image
बुधवार, कार्तिक २८, २०७५

दिपेन लावती/ शान्तिनगर ।

परापूर्वकाल देखि लाग्दै आएको धार्मिक,ऐतिहासिक तथा पर्यटकीय रुपमा परिचित ठुटेवर मेलाले यसवर्ष पनि निरन्तरता पाउने भएको छ । करीव २ सय बर्ष अगाडीबाट लाग्दै आएको मेला माओवादी द्धन्दकालमा बन्द भएको थियो ।

परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो । ठुटेवर झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पर्छ । बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको छ । इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बढ्दै गएको थियो । मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेका थिए ।

स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको थियो । तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको स्थानीयहरु बताउँछन् । झापा जिल्लाको उत्तरी गाउँपालिका बुद्धशान्ति गाउँपालिका–६ स्थित ठुटेवर परिषरमा मंशिर–४ गतेदेखि ८ गतेसम्म भब्य मेलाको तयारी गरिएको हो ।

गत चार बर्ष अगाडीबाट ठुटेवर संरक्षण तथा बिकास समितिको सहयोगमा मेला आयोजना गरिदैँ आइएको छ । यसबर्ष पनि अघिल्लो सालको जतिकै मेला लगाउँने समितिको लक्ष्य छ । मंशीर–४ गतेबाट लाग्ने पाँच दिवसिय मेलामा हरेक दिन फरक÷फरक कार्यक्रम संचालन हुने मेला आयोजक समितिका सचिव सोमनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार मंशीर–४ गते उद्घाटन संगै भाषाशास्त्री महानन्द सापकोटाको सालिक परिषरबाट म्याराथुन दौड, बिभिन्न जातजातीको साँस्कृतिक झाँकी प्रस्तुत गरिने छ । यसका साथै अन्य दिन बृहत साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।

यसबर्ष पनि झापा, इलाम, भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले जानकारी दिएको छ । यसैवीच, स्थानीय चीत्र बहादुर राईको संयोजगत्वमा मेला आयोजक समिति गठन गरिएको छ । मेला सम्पन्न गर्न करिव ५ लाख बढि खर्च हुने अनुमान गरिएको छ । गत बर्ष ५० हजार जना बढिले ठुटेवर मेलाको अवलोकन गरेका थिए ।

हाल ठुटेवरको विकासका लागि मेची पहाडी पर्यटन प्रवद्र्धन बिकास समिति इलामले आर्थिक बर्ष २०७२÷०७३ को रु ४ लाख ३० हजारको वजेटबाट ठुटेवर परिषरमा दुई वटा गोल चौतारी, फलैचा निर्माण गरिएको छ । अहिले बुद्धशान्ति गाउँपालिका–६ नम्बर वडा कार्यालयले प्रदान गरेको रु.२ लाखको लागतमा सौचालय निर्माण भइरहेको छ । २०६४ साल भदौ २० गते ढलेको एतिहासिक बरको बृक्ष परिषरमा नयाँ बरको रुख रोपिएको छ ।

१० कठ्ठा क्षेत्रफलमा फैलिएको ठुटेवर परिषरमा लाग्ने मेलाले बुद्धशान्तिको पर्यटकिय क्षेत्रको बिकास र पहिचान झल्काउने उद्धेश्य राखिएको छ । एतिहासिक धार्मिक अचलेश्वर शिवालय मन्दिर, सतिगौडा, जरेवर, धारागोला भ्यूटावर, पाँचपोखरी लगायत दर्जनौ पर्यटकिय क्षेत्र यसै गाउँपालिका पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर