Aamsanchar

पशुपति माविमा आर्थिक अनियमितता/ हिसाब मिलाउन प्रअलाई भ्याइनभ्याई

Author Image
शुक्रवार, कार्तिक ३०, २०७५

राजगढ।

झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता हुँदै आएको तथ्य खुलेको छ ।

उनीहरुले नियम विपरीत मनोमानी ढंगले आर्थिक कारोवार र बिल भर्पाई बनाएको पाइएसँगै यस्तो तथ्य खुलेको हो । विद्यालयले गरेको आर्थिक कारोवारको अभिलेख अभिभावक सामेल भएको सामाजिक परीक्षण समितिमा आएसँगै कर्मचारी र समितिका पदाधिकारीको अनियमितता सतहमा आएको हो । विद्यालय व्यवस्थापन समितिको निर्णयपछि मात्र आर्थिक कारोवार सामाजिक परीक्षणका लागि पठाउने चलन भए पनि प्रधानाध्यापक विद्यासागर चौधरीले समितिबाट निर्णय नगराई परीक्षणका लागि पठाएपछि अनियमितता सार्वजनिक भएको हो ।

शिक्षक अभिभावक संघको बैठकमा विद्यालयले गरेको खर्चको विषयमा छलफल हुँदा विद्यालयले गरेको अपत्यारिलो खर्चप्रति शिक्षक अभिभावक संघका अध्यक्ष लगायतका पदाधिकारीले ९ बुँदामा असहमति जनाएका थिए ।

विद्यालयले गरेको खर्च अनुमोदन गर्न लाग्दा शिक्षक अभिभावक संघका अध्यक्ष रहने सामाजिक परीक्षण समितिले आपत्ति जनाउँदै विद्यालयले गरेको खर्चको हरहिसाब माग गरेको थियो । सो क्रममा अपत्यारिलो बिल भेटिएपछि समितिले विद्यालयले गरेको हरहिसाव पारदर्शी ढंगले पेश गर्न माग गरेको थियो ।

सामाजिक परीक्षण समितिले विद्यालयले आर्थिक वर्ष २०७४÷०७५मा वितरण गर्नुपर्ने रामनारायण मिश्र छात्रवृत्तिको दुई लाख एक हजार रुपैयाँ अझैं पनि वितरण नगरेको जनाएको छ । सो रकम छात्रवृत्तिका निमित्त गत आर्थिक वर्षमै निकासा भए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पोखरेल र केही शिक्षकले व्यक्तिगत रुपले खर्च गरेको बताइएको छ । यता प्रधानाध्यापक चौधरीले सो रकम गत आर्थिक वर्षमै छात्रवृत्ति वापत वितरण गर्नुपर्नेमा गर्न नसकिएको स्वीकार गरेका छन् । उनले भने– हामीले बैंकबाट छात्रवृत्तिको सो रकम निकालेर भौतिक पूर्वाधार विकासमा खर्च गरेका छौं, गाउँपालिकाले पूर्वाधार विकास गर्न दिने भनेको रकम निकासा नगरेपछि सो छात्रवृत्ति बापतको रकम चलाएका हौं ।’

प्रधानाध्यापक चौधरीले रकम अनियमितता नभएको बताएपनि सो रकम उनीहरुले व्यक्तिगत कामका लागि प्रयोग गरिरहेको र हालसम्म पनि विद्यालयको खातामा दाखिला नभएपछि छात्रवृत्तिको रकम अनियमितता भएको प्रष्ट भएको स्रोतले जनाएको छ ।

यस्तै गत आर्थिक वर्षमा विद्यालयमा इन्टरनेट जडान गर्दा लागेको ५४ हजार रुपैयाँको बिलमा समेत सामाजिक परीक्षण समितिले शंका गरेपछि विद्यालयका प्रअ र अध्यक्षले सो बिल रातारात परिवर्तन गरेको पाइएको छ । समितिले सो बिलमा शंका गरेपछि विद्यलयको लेखा राख्ने खातामा लेखिएको इन्टरनेट जडान वापतको ५४ हजार रुपैयाँलाई केरमेट गरेर टिपेक्स लगाउँदै २९ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।


यता इन्टरनेट वितरक कम्पनीका प्रतिनिधि सोमनाथ न्यौपानेले आफूले २९ हजार रुपैयाँमा विद्यालयमा इन्टरनेट जडान गरेको र सोही रकम वरावरको बिल विद्यालयलाई दिएको भए पनि विद्यालयका सहायक प्रधानाध्यापक गुणनिधि लुइँटेलले बिल हराएको भन्दै पुनः सोही रकम बराबरको अर्काे विल माग गरेपछि आफूले अर्को बिल दिएको बताए । तर, सहायक प्रधानाध्यापक लुइँटेलले दुईवटै बिललाई विद्यालयको इन्टरनेट जडानको खर्च भन्दै हिसाव मिलाएपछि सामाजिक लेखा परीक्षण समितिले आपत्ति जनाएको हो । सामाजिक लेखा परीक्षण समितिका अध्यक्ष मोति राजवंशीले विद्यालयको खर्चलाई बढाईचढाई गरेर एउटै बिल दुईपटक पेश गरिएको पाइएपछि बिल पास गर्न लग्दा आपत्ति जनाएको बताए ।

यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोखरेलले समितिबाट निर्णय भएपछि मात्रै विद्यालयको हरहिसाव सामाजिक परीक्षण समितिमा पठाउनुपर्ने भए पनि प्रधानाध्यापक चौधरीले सोझै सामाजिक परीक्षण समितिमा पठाएर गल्ती गरेको बताए । उनले समितिबाट निर्णय भएर मात्रै सामाजिक परीक्षणका लागि गएको भए यस्तो समस्या नआउने बताए । विद्यालयमा हुने अनियमितता र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको चलखेल अध्यक्षको भनाइबाटै पुष्टि हुन्छ– शिक्षक अभिभावक संघका अध्यक्ष राजवंशीले भने ।

यतिमात्रै होइन अध्यक्ष पोखरेलले नै अगुवाई गर्दै विद्यालयको दक्षिणतर्फको ट्रस निर्माणका क्रममा ढलानमा प्रयोग गर्ने एक ट्याक्टर वालुवाको २५ सय रुपैयाँसम्म नगद भुक्तान गरेको पाइएको छ । जवकि सामान्यतया वालुवाको अभावका समयमा समेत राजगढमा अधिकतम् एक हजार रुपैयाँमा बालुवा ढुवानी गरिदिने गरेको ट्याक्टर व्यवसायीको भनाइ छ । विद्यालयको दक्षिणतर्फको वरन्डा निर्माण गर्दा पाँच लाख ५० हजार रुपैयाँको बिल बनाइएको सामाजिक परीक्षण समितिले जनाएको छ ।

हिसाव मिलाउन पुस्तक पसलबाट फर्जी विल

पुस्तकालयका लागि खरिद गरिएको पुस्तकको बिल समेत फर्जी भएको पाइएको छ । राजगढमा रहेको आचार्य पुस्तक पसलबाट पुस्तकालयका लागि पुस्तक नै नकिनी प्रधानाध्यापक चौधरीले फर्जी बिल बनाएर लगेको स्रोतले जनाएको छ ।

आफ्नो पुस्तक पसलबाट पुस्तक नलगे पनि प्रअ चौधरीले बिल माग्नुभयो, मैले दुईवटा बिल दिएको हुँ– पूर्वाञ्चलकर्मीसँग पुस्तक बिक्रेता जय आचार्यले भने– ‘हिसाब मिलाउन भन्दै हेडसर आफैंले बिल लानु भएको हो ।’ फर्जी बिलको विषयमा प्रअ चौधरी स्वयम्ले हिसाब मिलाउनका लागि पुस्तक पसलबाट खाली बिल ल्याएको स्वीकार गरेका छन् ।

वार्षिक उत्सव र स्मारिका प्रकाशनमा अपत्यारिलो खर्च

विद्यालयको वार्षिक उत्सवमा एक लाख ३१ हजार ३२ रुपैयाँ खर्च भएको पाइएको छ । वार्षिक उत्सवको विषयमा प्रधानाध्यापक चौधरी भन्छन्– एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई प्रमाणपत्र र सम्मान गरेका थियौं, वार्षिक उत्सवमा यति खर्च हुनु समान्य हो ।

तर, उनको भनाइलाई सामाजिक परीक्षण समितिले शंकास्पद रुपमा लिएको छ । दक्षिणी क्षेत्रमा रहेको विद्यालयमा यति महंगोमा के खर्च गरेर वार्षिक उत्सव मनाइयो– सामाजिक परीक्षण समितिका अध्यक्ष राजवंशीले प्रतिप्रश्न गरे ।

त्यस्तै स्मारिका प्रकाशनका लागि विद्यालयले एक लाख ५३ हजार पाँच सय २९ रुपैयाँ ६० पैसा खर्च गरेको पाइएको छ । तर, विद्यालयकै एक शिक्षकले स्मारिका प्रकाशनमा विद्यालयको ७० देखि ७५ हजार रुपैयाँ मात्र खर्च भएको छ, त्यत्ति रकममै बिर्तामोडको एक छापाखानाबाट उक्त स्मारिका प्रकाशन गरिएको दावी गरेका छन् । प्रअ चौधरी, व्यवस्थापन समितिका अध्यक्ष पोखरेल र सहायक प्रधानाध्यापक लुर्इँटेलको मिलेमतोमा हिसाव मिलान गरेको स्रोतले दावी गरेको छ ।

गुणस्तरहीन कम्प्युटर खरिद

तत्कालीन जिल्ला शिक्षा कार्यालय झापाले सिआईटी कार्यक्रम अन्तर्गत व्राण्डेड कम्प्युटर खरिद गर्न दिएको एक लाख ६० हजार रुपैयाँ र विद्यालयको आन्तरिक श्रोतबाट ४० हजार गरी दुई लाख रुपैयाँ निकासा भएकोमा विद्यालयले पुरानो सिरिजका गुणस्तरहीन एसएम्वल कम्प्युटर खरिद गरेको पाइएको छ । खरिद गरिएका चार थान कम्प्युटर सिस्टम र आठथान मनिटर अहिले नचल्ने अवस्थामा छन् ।

व्राण्डेड कम्प्युटर खरिद गर्नुपर्नेमा आर्थिक चलखेल गरी गुणस्तरहीन एसएम्वल कम्प्युटर खरिद गरिएपछि कम्प्युटर नचल्ने भएको हो । अझैं अचम्म त के छ भने कम्प्युटर खरिद गरिएको दुई वर्ष पुग्न लागेको भए पनि अहिलेसम्म कम्प्युटर शिक्षा पठनपाठन गराउने शिक्षक समेत नियुक्ति गरिएको छैन । कमिशनकै लागि विद्यालयमा आवश्यक नपर्ने अडियो मिक्चर समेत महंगो मूल्य तिरेर खरिद गरिएको विद्यालयका एक शिक्षकले बताए ।

मक्चर लगायतका विद्यालयमा प्रयोगमा नआउने सामग्री खरिद गरी दुई लाख १४ हजार रुपैयाँको बिल फछ्र्यौट गरेको स्रोतले दावी गरेको छ ।

बिद्यालयको जग्गा व्यक्तिलाई

बाह्रदशी गाउँपालिका–३ राजगढस्थित पशुपति माविको नाममा दर्ता कायम रहेको साविक राजगढ गाविस वडा नम्वर ९को कित्ता नम्वर ११३, ११४, १२३, १२४, १२५ , १२७, १३० र १३७ को जग्गा मध्येबाट एउटै प्लट हुने गरी २२ बिगाह जग्गा नियम मिचेर श्री पशुपति कृषि उद्योगलाई २२ वर्षका लागि करारमा दिइएको छ । सो फर्म कचनकवल गाउँपालिका–१का प्रेमप्रसाद थपलियाले सञ्चालन गर्दै आएका छन् ।

नियम अनुसार सार्वजनिक विद्यालयको अचल सम्पत्ति कुनै पनि व्यक्ति वा संस्थालाई करार वा विक्री गर्नुपर्ने भए मन्त्रीपरिषद्को निर्णय गर्नुपर्ने प्रावधान छ । तर, बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको रोहवरमा प्रधानाध्यापक विद्यासागर चौधरी र व्यवस्थापन समिति अध्यक्ष तोयानाथ पोखरेलले नियम विपरीत विद्यालयको जग्गा सो फर्मलाई करारमा दिएका हुन् । विद्यालयले २२ विगाह जग्गा एक करोड ३० लाख ५ हजार रुपैयाँमा करारमा दिएको प्रधानाध्यापक चौधरीले बताए ।

यसरी नियम मिचेर विद्यालयको जग्गा फर्मलाई दिलाउन विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र करारमा लिने पक्षबीच चरम आर्थिक चलखेल भएको जानकारहरुले बताएका छन् । यस विषयमा अध्यक्ष पोखरेलले मन्त्री परिषद्को निर्णय आवश्यक भए पनि अहिले माथिल्लो तहबाट त्यसको मिलाउने पहल भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)