Aamsanchar

कञ्चनपुर धान जोनः उपकरणदेखि अनुदानसम्म

Author Image
मङ्गलवार, मंसिर ४, २०७५

भीमदत्तनगर, 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कञ्चनपुरमा ‘धान जोन’ क्षेत्र स्थापना गरेर यहाँका किसानलाई कृषि औजारदेखि प्रतिफल प्रोत्साहनका लागि अनुदान वितरण गरिँदै आएको छ ।

चालु आर्थिक वर्ष २०७३/७४ मा मुलुकभर शुरु भएको परियोजना अन्तर्गत कञ्चनपुरलाई धान जोनको क्षेत्रको रूपमा अघि सारिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१, २, ३, १८ र १९ वडाका साथै कृष्णपुर नगरपालिका–४, ५ र ६ लाई समेटेर धान जोन क्षेत्र विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ, कञ्चनपुरले जनाएको छ ।

इकाइका प्रमुख टीकाराम थापाले यहाँ धान जोनको क्षेत्र विस्तार गर्दै लगिएको जानकारी दिनुभयो । ‘शुरुमा केही वडालाई समेटिएर जोन क्षेत्र बनाइएको थियो ।’ थापाले भन्नुभयो,“जोन क्षेत्रका किसानलाई उपकरणमा अनुदानदेखि सहुलियतसम्म प्रदान गरिएको छ ।”

धान जोन क्षेत्रका किसानलाई ट्र्याक्टर, ट्रली, पावरटिलर, धान काट्ने मेसिनदेखि राम्रो उत्पादन गर्नेलाई रकम अनुदानसमेत प्रदान गरिएको परियोजनाको कार्यालयले जनाएको छ । ‘जोन क्षेत्रमा चालु आवमा पनि साना सिँचाइदेखि विभिन्न उपकरण खरीदमा गरी रु ९५ लाख बजेट आएको छ ।’ थापाले भन्नुभयो, “सिँचाइ सुविधा थप गर्न पनि रु तीन करोड बजेट आएको छ ।” सिँचाइका लागि आएको बजेट सिँचाइ कार्यालयमार्फत खर्च हुनेछ ।

“साना सिँचाइको काम यहाँबाटै हुन्छ”, थापाले भन्नुभयो, “साना सिँचाइमा स्यालोटय्ब समेत वितरण गरिएको छ ।” पाँच हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती गरिएको क्षेत्रलाई ‘जोन’ को रूपमा विकास गर्ने अवधारणा रहेको छ । स्वदेशी लगानीमा सञ्चालन भएको यो मुलुककै पहिलो परियोजना हो । परियोजनाअन्तर्गत सुदूरपश्चिम प्रदेशमा आलु, जैतुन, मकै, तोरी र गहुँ जोन क्षेत्र घोषणा गरिएको छ ।’

परियोजना सञ्चालनका लागि किसान सम्मिलत ‘जोन सञ्चालक समिति’ निर्माण गरेर गरेर काम गर्दै आएको छ । जोन क्षेत्रमा रहेका विभिन्न कृषि सहकारीदेखि किसान समूहबाट प्रतिनिधित्व गरेर आएका किसानबाटै जोन सञ्चालक समिति बनाउने गरिएको छ ।

परियोजना शुरुवात भएको पहिलो वर्ष यहाँको भीमदत्तनगरपालिका–१९ बागफाँटामा रहेको शुक्लाफाँटा कृषि सहकारी संस्थालाई ट्र्याक्टर, धान रोप्ने मेसिन, विषादी छर्ने मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । “परियोजना अन्तर्गत ५० प्रतिशत मात्रै अनुदान हुन्छ”, थापाले भन्नुभयो, “बाँकी ५० प्रतिशत समूह र सहकारीको लगानी हुन्छ ।”

त्यसैगरी गत चालु आर्थिक वर्षमा कृष्णपुर नगरपालिकाको हमरा सयपत्री कृषि सहकारी संस्थालाई समेत उपकरण खरीदमा अनुदान दिइएको थियो । ‘प्रतिफल प्रोत्साहन अनुदानअन्तर्गत प्रतिहेक्टर रु १० हजारका दरले समेत किसानलाई अनुदान दिँदै आएको छ ।’

उहाँले भन्नुभयो, “त्यसका लागि चालु आवमा रु २५ लाख बजेट आएको छ ।” साथै जिल्लाका अन्य क्षेत्रका किसानको सहुलियतका लागि पनि चालु आवमा प्राङ्गारिक मल कारखाना सहयोग, धान मिल र मसिना धानको विरुवा लागि अनुदान आएको परियोजनाको कार्यालयले जनाएको छ ।
अनुदान र उपकरणका लागि किसानबाट आवेदन प्राप्त भएको र छनोट गरेर वितरण गरिने परियोजना कार्यान्वयन इकाइ कार्यालयको भनाइ छ । विस्तार गरिएको धान जोन क्षेत्रमा करीब पाँच हजार हेक्टरमा धानखेती हुँदै आएको छ ।

Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर