Aamsanchar

बाह्रदर्शी गापामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु

Author Image
शुक्रवार, मंसिर ७, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड ।

जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसंग शान्ति सुरक्षाका लागि साझेदारी कार्यक्रमलाई अगाडि बढाएको छ ।

नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम झापासहित देशभर सञ्चालन गरिरहेका बेला जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदर्शी गाँउपालिकामा बिहिबार एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर कार्यक्रमलाई सञ्चालन गरेको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन हुन लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरीले उक्त अवधारणालाई अगाडि सारेको हो ।

कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माणका लागि झापाका सबै स्थानीय तहसंग सम्झौता हुनेक्रम जारी रहेको र बाह्रदर्शी गाँउपालिमामा गाँउपालिका स्तरीय कमिटि गठन गर्दै वडा, समुदाय तथा विद्यालयसम्म पु¥याउन बिहिबारबाट काम सुरु भएको प्रहरी उपरीक्षक ढकालले बताए । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख गरिएको छ ।

अभियान सफल बनाउन टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम सँगसँगै जानेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने योजना प्रहरीले अगाडि सारेको हो । यस्तै प्रहरीले अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्नेछ ।

जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति निर्माण हुनेछ । यस्तै समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुनेछ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्व रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक सङ्घसंस्था रहनेछन् ।

बाह्रदर्शी गाँउपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्ना राजवंशी, ७ वटै वडाका वडाध्यक्ष, कार्यकारी अधिकृत लगायतका जनप्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक ढकालले समुदाय प्रहरी साझेदारीका काम,कर्तव्य, जिम्मेवारी र यसबाट हुने फाइदाका विषयमा जानकारी गराएका थिए । उनले आफ्नो गाँउपालिका तथा नगरपालिकामा शान्ति सुरक्षा कायम गर्ने विषयमा अलिकति पनि कञ्जुस्याई नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट धेरै अपराध न्यूनिकरण गर्न सकिने बताउदैं उनले अपराधसंग सम्झौता चाँहि हुन नसक्ने स्पष्ट पारेका छन् । समुदाय आफै सचेत भएर अपराध न्यूनिकरणमा लागेमा शान्ति सुरक्षामा थप टेवा पुग्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बाह्रदर्शी गाँउपालिकाको सुरक्षाको विषयमा हातेमालो गर्न तयार रहेको विचार ब्यक्त गरे । ३३ हजार ६५३ जनसंख्या रहेको गाँउपालिकामा सबै क्षेत्रमा प्रहरीसंगको सम्झौता अनुसार नै समितिहरु ग्ठन गर्ने र अपराध न्यूनिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै गाँउपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक समेत रहेकी रत्ना राजवंशीले अपराधको विषयमा सम्झौता नगर्ने बताएकी छन् । उनले कानुनले दिएका अधिकारहरु प्रहरीसंगको समन्व्यमा पलना गर्न तयार रहेको धारणा ब्यक्त गरिन् । अधिकांश वडाध्यक्षहरुले गाँउपालिकामा प्रहरीको जनशक्ति थप गरिदिन आग्रह समेत गरेका थिए ।

इो सम्झौतासंगै बाह्रदर्शीमा अब प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नका लागि समुदाय अग्रहसर हुने भएको छ । कार्यक्रमलाई सफल पार्न पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराइने छ । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरेर सचेतना बढाइने प्रहरी उपरीक्षक ढकालले बताए ।

यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरीको भनाई छ ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास नेपाल प्रहरीले लिएको छ । झापामा आगामी माघ १ गतेबाट मदिरा नियन्त्रित जिल्ला बनाउने अभियानमा रहेको झापा प्रहरीलाई यो कार्यक्रमले थप टेवा पु¥याएको प्रहरी उपरीक्षक ढकालको भनाई छ ।

झापाको जिम्मेवारी सम्हाल्न आएका लगत्तै प्रहरी उपरीक्षक ढकालले यौनजन्य हिंसा रोक्न टोलटोलमा प्रहरी कार्यक्रम, पिडित सहायताक कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सबैको साथ र सहयोग पाएकाले झापामा ठूला अपराध रोकन प्रहरी सफल भएपनि छुटफुट रुपमा अपराध नरोकिएको भन्दै बिर्तामोडका बैंकबाटै रकम चोरी हुनु, हत्या लगायतका घटना हुनुले अझैपनि सर्तकता अप्नाउन समुदाय र प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास प्रहरी उपरीक्षक ढकालले लिएका छन् ।

यसैबीच बाह्रदशी गाउपालिकामा गत आर्थिक वर्ष २०७४–०७५ मा १५ वटा मुद्धा दर्ताभएकामा ५ जनालाई पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको कार्तिकसम्ममा ३ वटा मुद्धा दर्ता भएको छ भने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर