Aamsanchar

‘जलवायु परिवर्तनबाट हिमालय क्षेत्र बढी प्रभावित’

Author Image
शुक्रवार, मंसिर ७, २०७५

काठमाडौँ,

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असरबाट हिमालय क्षेत्र बढी प्रभावित भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।

वन मन्त्रालय र युरोपेली सङ्घको संयुक्त आयोजनामा  जलवायु परिवर्तनका सम्बन्धमा उच्चस्तरीय तलनिया डाईलग (खुला छलफल)को उद्घाटन सत्रमा उहाँले जलस्रोतको मुहानका साथै जडीबुटीको भण्डार र जनजिविकाको माध्यम हिमालय क्षेत्रको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो । वातावरण क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ता सम्मिलित उक्त छलफलबाट निस्कने सुझाव जलवायु परिवर्तनका असरसँग जुध्न मार्गनिर्देशक हुने र मुलुकको राष्ट्रिय नीति निर्माणमा समेत उपयोगी हुने उहाँको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनको असर नेपाल जस्ता मुलुकमा द्रुत गतिमा देखिन थालेकाले यसको न्यूनिकरणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असरबाट बच्न नेपालले हरियाली प्रवद्र्धन, वृक्षरोपण, कार्वन सञ्चितिकरणलगायत क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा युरोपेली सङ्घका राजदूत भिरोनिका कोडीले जलवायु परिवर्तनका असरबाट गरिब मुलुक बढी जोखिममा रहेको उल्लेख गर्दै सम्बन्धीत मुलुकसँगको छलफलबाट समाधानका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युरोपेली इन्भेस्टमेन्ट बैङ्कका उपाध्यक्ष एन्ड्रिउ म्याक्डोवेलले जलवायु परिवर्तनको असरबाट वातावरणीय समस्याका साथै वन्यजन्तुसमेत प्रभावित भएको बताउनुभयो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) को पूर्वसन्ध्यामा सम्मेलनमा उठाउनुपर्ने विषयका सम्बन्धमा सुझाव सङ्कलनका लागि ‘तलनिया डाईलग’ गरिएको हो । छलफल कार्यक्रम मुख्य रुपमा जलवायु परिवर्तनका क्षेत्रमा ‘हामी कहाँ छौँ, कहाँ जान चाहन्छाँै, र कसरी जान्छौँ’ भन्ने विषयमा अलग अलग सत्रमा सरोकारवालाको सुझाव लिइएको थियो ।

कार्यक्रममा नेपालले हरित ग्यास उत्सर्जनमा आफ्नो न्यून योगदान भए पनि जलवायु परिवर्तनको जोखिमबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको विषयलाई सम्मेलनमा प्रमुखरुपमा उठाउनुपर्ने सुझाव आएको छ । कोप–२४ यही मङ्सिर १६ देखि २८ गतेसम्म (डिसेम्बर २ देखि १४ सम्म) पोल्याण्डको काटोविसमा हुँदैछ । नेपालले जलवायु परिवर्तनका सम्बन्धित सरकारी तथा गैरसरकारी सरोकारवालासँग विभिन्न चरणमा छलफल गरी प्रतिवेदन तयार गरेको मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख डा महेश्वर ढकालले जानकारी दिनुभयो । ‘तलनिया डाईलग’ का सुझाव पनि प्रतिवेदनमा समेटिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि धनी तथा विकसित राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग आर्थिक स्रोत जुटाउन पहल गर्नुपर्ने, जलवायु परिवर्तनका असरबाट जुध्न आवश्यक प्रविधि सहज र सुलभ रुपमा भित्र्याउनुपर्ने, जोखिममा रहेका स्थानीयवासीको क्षमता अभिवृद्धि, जीवनस्तरमा सुधार र समयानुकूलका कार्यक्रमका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

विज्ञहरुले जलवायु परिवर्तनका असरसँग जुध्न कृषि, वन, भू–संरक्षण, खानेपानी, सिँचाइ, फलफूल र पशुपालनलगायत क्षेत्रमा नेपालले स्थानीयस्तरमा गर्दै आएका मौलिक ज्ञानका बारेमा समेत विश्व जगतलाई सन्देश दिनुपर्नेमा सुझाव दिनुभएको थियो ।

जलवायु परिवर्तनका असरका कारण नेपालका हिमशिखर पग्लने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि हुने तथा परिणामस्वरुप बाढीपहिरो, मरुभूमिकरण र खडेरीजस्ता प्रभाव देखिने गरेको छ ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर