बिर्तामोड।

एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थी सन्तोष चुडाल उभिएर भन्दै थिए– ‘बुबाले पैसा म आफैं ल्याइदिन्छु भन्नुहुन्छ ।’ यो उनको कोचिङ पढेको पैसा किन नतिरेको भन्ने प्रश्नको जवाफ थियो ।

‘कोचिङ पढ्न चाहनेले पढ्न र नचाहनेले नपढ्न पनि पाउँनुपर्छ सर ।’ अर्का विद्यार्थी रोहन दाहाललाई कोचिङ कक्षाबारे केही भन्नुछ भनेर सुझाव दिन शिक्षकले समय दिएपछि उनले यस्तो विचार राखेका हुन् । यी दुबै विद्यार्थीका भनाइ र तनावयुक्त अनुहारमा आर्थिक समस्या नै मुख्य रहेको बुझ्न गाह्रो थिएन । झापाको बिर्तामोड नगरपालिका–१० स्थित महेन्द्रज्योति माविमा कक्षा १० का विद्यार्थीका लागि कोचिङ कक्षाबारे छलफल कार्यक्रमकाबीच भएको प्रसङ्ग हो यो । एक महिनाअघि कोचिङ पढेको पैसा अझै केही विद्यार्थीबाट नदिएको नामको सूचीमा परेका विद्यार्थीको भनाइको उदारण यो ।
उक्त विद्यालयमा यसअघि (दशैंअघि दुई महिना) सञ्चालित कोचिङ कक्षाको उपलब्धि र आगामी योजनाबारे सम्बन्धित अभिभावक तथा विद्यार्थीबीच छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो । आगामी एसईई परीक्षाको तयारीका लागि अतिरिक्त कक्षा सञ्चालन हुँदै आएकोमा त्यसबाट भएको प्रगति र आगमी कक्षाबारे सुझाव तथा परामर्श लिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक जयकुमार झाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका शिक्षक अभिभावक संघका अध्यक्ष रत्नबहादुर बस्नेतले राम्रो नतिजाका लागि शिक्षकले नियमित कक्षा शिक्षणमा ध्यान दिन र विद्यार्थीले अनुशासित र लगनशील भई पढ्नुको साथै विशेष कक्षामा गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरे । उनले गरिबी र अति विपन्नताका कारण विद्यार्थीले शुल्क तिर्न नसकेकाले कोचिङ सञ्चालनका लागि विद्यालयको आन्तरिक स्रोत तथा वडा कार्यलयबाट आर्थिक सहयोग जुटाउन पहल गर्नुपर्नेमा जोड दिए ।
परीक्षामा राम्रो नतिजा प्राप्त गर्न भन्दै दशैंअघि दुई महिना विद्यालय सञ्चालन अघि र विदापछि बिहान बिलुका गरी तीन घण्टा गणित, विज्ञान र अंग्रेजी विषयको थप अतिरिक्त कक्षा सञ्चालन भएको भए पनि सिकाइ उपलब्धि सन्तोषजक नभएको अध्यापनरत् शिक्षकहरु स्वयम् स्वीकार्छन् । यता ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्न धौ–धौ पर्ने अभिभावकलाई परेको थप आर्थिक भारका कारण विद्यार्थीहरु पनि तनावमा पर्ने गरेका छन् । जसबाट उनीहरुको मनोविज्ञानमा असर परेको छ । परीक्षा नजिकिएसँगै निश्चिन्त भई उच्च मनोबलका साथ अध्ययनमा जुट्नुपर्ने समयमा सिर्जित यसप्रकारको अवस्था चिन्ताजनक भएको विज्ञहरु बताउँछन् । यस विद्यालयमा कक्षा ज्ञण्मा हाल ३४ जना विद्यार्थी अध्ययरत् छन् ।
पाँच महिनाभन्दा बढी सञ्चालन हुने निश्चय भएको कोचिङ कक्षाका लागि उनीहरुले मासिक एक हजार तिर्नपर्ने बताइएको छ । १० नं. वडाका वडाध्यक्ष दूर्योधन गुरुङ स्वयम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहे पनि समस्याकाबारे त्यति ध्यान दिएको पाइँदैन । दुई वर्षसम्म विद्यालयको स्मारिका प्रकाशन हुन नसकेको र हिसाब–किताब पारदर्शी नभएको भन्दै सरोकारवाला अभिभावकहरुबाट आलोचना भइरहँदा पनि त्यसतर्फ समिति र प्रधानाध्यापकको ध्यानाकर्षण भएको पाइँदैन ।
सुरक्षा गार्ड समेतको व्यवस्था गरेको यस सामुदायिक विद्यालयले केही दिनअघि सांस्कृतिक कार्यक्रमको नाममा एक लाख खर्च गरेर प्राथमिकताका योजना तथा कार्यक्रम सम्पन्न गर्न विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक चुकेको एक शिक्षकले आरोप लगाए । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा कोचिङ कक्षामा अध्यापनरत् विषयगत शिक्षकहरु जयकुमार झा, भवानीकुमार शिवाकोटी, मणिकुमार दंगालले बोलेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक बीरेन्द्र कडरियाले गरेका थिए ।

