झापा,

नक्कली अन्तशुल्क स्टिकर टाँस गरी राजस्व छल्ने विभिन्न ब्राण्डका मदिरा (रक्सी) बरामद गरी आइतबार नष्ट गरिएको छ।

झापाको भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालय मेचीले ३६ कार्टुन अर्थात् करिब दुई लाख मूल्य बराबरको मदिरा बरामद गरी नष्ट गरिएको प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए।

बजारमा बिक्रीवितरण भइरहेका सिलबन्दी भएकै मदिराले राजस्व छलेको गोप्य सूचनाको आधारमा आन्तरिक राजस्व कार्यालय मेचीबाट खटिएका अनुगमन टोलीले विभिन्न मितिमा मदिरा बिक्रीवितरण गर्ने फर्म र उद्योगबाट उक्त मूल्य बराबरको मदिरा बरामद गरेको हो।

आन्तरिक राजस्व कार्यालयका अनुसार दृष्टि इन्टरप्राइजेजले नक्कली अन्तशुल्क स्टिकर टाँस गरी बिक्री वितरणका लागि राखिएका पाँच कार्टुन अनमोल फ्रेण्ड र चार कार्टुन बटालिय ट्रिप्ल एक्स नामको मदिरा २०७५ जेठ १३ गते अनुगमन टोलीले बरामद गरेको थियो।
त्यस्तै अनुगमन टोलीले कोल्ड ट्रेड सेन्टरबाट १८० एमएल ५० युपी शक्तिको ब्लु अफर ३६ बोतल र थापा ब्रदर्श सप्लायर्सको गोदामबाट योनेक्स नाम गरेको १८० एमएल ५० युपी शक्तिको १५ कार्टुन मदिरा बरामद गरेको थियो।
भोलेबाबा लिकर्स उद्योगबाट सी यू ब्राण्डको ५० युपी शक्तिको ५२८ बोतल मदिरा बरामद गरेको प्रमुख कर अधिकृत आचार्यले बताए। ‘राजस्व छल्ने फर्म र उद्योगका सञ्चालकलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिसकेका छौँ’, कर प्रमुख आचार्यले भने, ‘उनीहरूको कारबाही प्रक्रिया सकेपश्चात् नै बरामद गरिएको मदिरालाई पनि कानुनी प्रक्रिया मिलाएर नष्ट गरिएको हो।’
नक्कली अन्तशुल्क स्टिकर टाँस गरी बिक्रीवितरण गर्न पसल, फर्म तथा उद्योगहरुको अनुगमनलाई निरन्तरता दिने उनको भनाइ छ।

