बिर्तामोड।

केही महिना अघि बिर्तामोडमा भएको एक कार्यक्रममा बोल्दै खानेपानी मन्त्री विना मगरले अब नेपालले स्वच्छ पिउने पानी बेच्ने बताएकी थिइन् । उनले केही वर्षभित्रै सबैको घर–घरमा स्वच्छ पिउने पानी पु¥याउने बताइरहँदा झापाली जनताले तालीको गडगडाहटले स्वागत गरेका थिए ।

त्यत्ति मात्र होइन खानेपानीको क्षेत्रमा काम गर्ने संस्था राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघको मुख्य पदमा झापा बिर्तामोडकै टोरुप प्रसाई रहेका छन् तर उनकै हजुरबुवा देवीप्रसाद प्रसाईले दिएको जग्गामा निर्मित सामुदायिक विद्यालयमा भने अझै स्वच्छ पिउने पानीको अभाव देखिएको छ । बिर्तामोड नगरपालिका– ५ मा रहेको देवी माविमा अझै खानेपानीको समस्या छ । जहाँ ट्युवेलको पानी खान पनि बिद्यार्थीलाई लाइन बस्नुपर्ने बाध्यता छ ।

लाइनमा बसे पनि पालो नआइ घन्टी लाग्दा कतिपयले समयमा पानी पिउनबाट बञ्चित हुनु परेको छ । बिर्तामोड जस्तो सुगम ठाउँमा रहेको विद्यालयमा अध्ययनरत् विद्यालयको त यो अवस्था छ भने अन्यत्र के होला ? बिद्यार्थीलाई पालो नकुरी सहज रुपमा स्वच्छ पिउने पानीको व्यवस्थाका लागि विद्यालयले याचना पनि गरिरहेको छ तर आजसम्म कुनै दाता भेटिएको छैन ।

चार हजार एक सय विद्यार्थी अध्ययनरत् सो विद्यालयमा स्थानीय समाजसेवी जमुनादेवी कार्कीले १० वटा धारा जडान गरेर स्वच्छ पिउने पानी उपलब्ध गराए पनि त्यसले नधानेपछि विद्यार्थी ट्युवेलको पानी पिउन बाध्य हुनुपरेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । उनले भनिन्– दाताले धारा त जडान गरिदिनुभयो, तर विद्यार्थी धेरै भएकाले उनीहरुलाई पिउने पानीको समस्या छ । विद्यार्थीहरुले ट्युबेलको पानी पिउन पनि पालो कर्नुपर्ने अवस्था रहेको छ । हाल विद्यालयमा तीन वटा ट्युबेल सञ्चालनमा रहेका छन् । धारामा पालो नआए विद्यार्थीले प्यास मेटाउन ट्युवेलमै भए पनि खानेपानीका लागि पालो कुरेर पानी खाने गरेका छन् ।
एक विगाह चार कठ्ठा जमिन रहेको विद्यालयको विस २०१९ पुस १९ गते उद्घाटन गरिएको थियो । नर्सरीदेखि कक्षा १२सम्म पढाइ हुने देवी माविमा विद्यार्थीको आकर्षण भने उच्च रहेको प्रधानाध्यापक श्रेष्ठले बताइन् ।
विद्यालयमा शौचालयको पनि उत्तिकै समस्या रहेको छ । झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियान चलिरहेका बेला विद्यार्थी संख्या उच्च रहेको देवी माविमा भने विद्यार्थीले शौच गर्नपनि पालो कुर्नुपर्ने बाध्यता रहेको छ । दुई वटा भवनमा बनाइएका शौचालयले मात्र नपुगेपछि अहिले विद्यालयले थप अर्काे ब्लकमा पनि शौचालय निर्माण गरिरहेको छ । अबको एक महिना भित्र एउटा ब्लकमा थप दुई वटा शौचालय निर्माण गर्ने प्रधानाध्यापक श्रेष्ठले बताइन् । उनले भनिन्– शौचालय निर्माण त हँुदैछ तर अझै पर्याप्त छैन् ।
यस विद्यालयमा ८ वटा पक्की ब्लक र ७ वटा टहरामा विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी विद्यालयहरु प्रशस्त रहेको बिर्तामोडमा सामुदायिक विद्यालयलाई उनीहरुसँग प्रतिस्पर्धा गर्न निकै हम्मे परिरहेका बेला गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको देवी माविमा विद्यार्थीको संख्या उच्च रहेको पाइएको छ ।
३५ जना शिक्षकको मात्र दरबन्दी रहेको विद्यालयमा ४९ जना शिक्षक कार्यरत् रहेका छन् भने विहानी सत्रमा ७५ जना शिक्षकले अध्यापन गराइरहेका छन् । सामुदायिक विद्यालय भए पनि शिक्षाको गुणस्तर राम्रो भएपछि विद्यार्थीको रोजाइमा परेको देवीमा विद्यार्थी संख्या वर्षेनि बढ्दो छ ।
११ र १२ को शुल्कले शिक्षक पाल्दै
देवी माविमा अध्ययन गर्न आउने कक्षा ११ र १२का विद्यार्थीहरुबाट उठाइएको शुल्कले निजीस्तरमा राखिएका शिक्षक पाल्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिइन् ।
११ र १२ कक्षामा मात्रै २२ सय विद्यार्थी अध्ययनरत् छन् । सामुदायिक विद्यालयले सञ्चालन गरेको विज्ञान संकायमा विद्यार्थीको संख्या उच्च रहेको पाइएको छ । विज्ञान संकायमा चार सय १५ जना विद्यार्थी अध्ययनरत् रहेका छन् । उक्त विद्यालयमा मानविकि, शिक्षा, ब्यवस्थापन र विज्ञान संकायमा अध्यापन हुँदै आएको छ । अध्ययनका लागि झापाका नाम चलेका निजी स्कूलका साथै पहाडी जिल्लाहरुबाट समेत विद्यार्थी आउने गरेको जनाइएको छ ।
३० वटा कम्प्युटरको कमी
विद्यालयमा विद्यार्थीलाई कम्प्युटरको माध्यमबाट शिक्षा प्रदान गर्नका लागि ३० वटा कम्प्युटर ल्याइए पनि सिकाइका लागि विद्यार्थीले पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।
विद्यालयमा प्रयोगात्मक शिक्षालाई थप व्यवस्थित बनाउने उद्देश्यले ल्याबको समेत व्यवस्थापन गरेको प्रधानाध्यापक श्रेष्ठले बताइन् । विद्यार्थीको सिकाइका लागि विद्यालयले सकेसम्म सहयोग गर्ने शिक्षकहरुको भनाइ छ ।
अवसर पाए महिला अगाडि
बिर्तामोड नगरपालिमा रहेका सामुदायिक विद्यालय मध्ये एक मात्र महिला प्रधानाध्यापक रहेकी श्रेष्ठले महिलाले अवसर पाए गर्न सक्ने बताइन् ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैको साथ र सहयोग पाएमा महिलाले पनि राम्रोसँग विद्यालयको व्यवस्थापन गर्न सक्ने प्रधानाध्यापक श्रष्ठको भनाइ छ । सिस्टम बसाल्न सकेमा प्रअले गर्ने होइन सिस्टमले काम गर्छ भन्दै उनले इच्छा शक्ति भने दृढ बनाउनुपर्ने उल्लेख गरिन् ।
श्रेष्ठले गरिन् यस क्षेत्रमा सुधार
देवी माविको प्रधानाध्यापकको जिम्मेवारी सम्हाले लगत्तै विद्यालय सुधार योजनाका कामहरुलाई प्रधानाध्याक श्रेष्ठले अगाडि बढाइन् । उनले विभिन्न चरणमा गरेर विद्यालयमा १६ वटा सीसी क्यामेरा जाडन गरेकी छन् ।
विभिन्न स्थानबाट आएका ब्यक्तिहरुले विद्यालयमा प्रवेश गरेर दिनहुँ जसो झगडा गर्ने गरेका कारण उक्त घटनामा संलग्नको पहिचान गर्दै विद्यालयलाई शान्त र सुरक्षित बनाउने उद्देश्यले प्रधानाध्यापक श्रेष्ठकै पहलमा सीसी क्यामेरा जडान गरेको बताइएको छ ।
त्यस्तै बिहानी सत्रमा सञ्चालन हुने विद्यालयमा अन्य विद्यालयका विद्यार्थी आउने गरे पनि प्रत्येक संकाय अनुसार फरक–फरक परिचय पत्रको व्यवस्था गर्दै गेटमा कार्ड हेरर मात्र प्रवेश दिने ब्यवस्थाले अवैध गतिविधि नियन्त्रण भएको प्रअ श्रेष्ठले बताइन् ।
नमूना विद्यालय बनाउने पहल गर्दै
आधुनिक प्रविधिको विकाससँगै विश्वले शिक्षामा ठूलो फड्को मारिरहेका बेला शिक्षा क्षेत्रमा व्यापक सुधार गर्दै लैजान देवी मावि लागीपरेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । वातावरण अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न दाताहरुको खोजीमा पनि रहेको जनाइएको छ । पढाइका साथै अन्य भौतिक संरचना, वातावरण लगायतलाई पनि नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको उनले बताइन् ।
त्यस्तै ऊर्जा मन्त्रालयमा वैकल्पिक ऊर्जा सोलार पावर उपलब्ध गराउनका लागि मन्त्रालयमा समेत पहल भइरहेको जनाइएको छ । देवी माविको भौतिक संरचना निर्माणका लागि बिर्तामोड नगरपालिकाले पनि सक्दो सहयोग गरिरहेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिइन् ।
ड्रप आउटको समस्या
विद्यालयमा भर्ना हुने शतप्रतिशत विद्यार्थीलाई टिकाउन समस्या हुने गरेको जनाइएको छ । विद्यालयमा बाल श्रमिक विद्यार्थीहरु धेरै भएकाले उनीहरुलाई शैक्षिक सत्रभरि टिकाउन समस्या हुने गरेको प्रधानाध्यापक श्रेष्ठले बताइन् ।
उनले भनिन्– अझै पनि दैनिक ५–६ जना नानीहरुले खाना खाएको छैन् भन्दै बिदा माग्ने गरेका छन् । यति मात्र नभएर अरुले ल्याएर घरमा राखेका नानीहरु आफ्नो घर या अन्तै जानुपर्दा पनि ड्रप आउटको संख्या बढेको हुन सक्ने बताइएको छ । यो समस्या समाधान गर्ने विषयमा अध्ययन भइरहेको प्रधानाध्यापक श्रेष्ठले बताइन् ।
‘शनिवार भन्न पाउदिन’


बिर्तामोडमा रहेको देवी माविलाई पछिल्लो समय नमूना विद्यालयको रुपमा लिन सकिन्छ । प्रधानाध्यापक श्रेष्ठ विद्यालय सुधारका लागि दैनिक १२देखि १४ घण्टासम्म विद्यालयमै कार्यरत रहेको बताउँछिन्् । उनको प्रमुख काम भनेकै विद्यालयलाई कसरी सुधार गर्दै लाने र देवी माविलाई जिल्लाकै नमूना विद्यालय कसरी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न योजना बनाउनु र दाता खोज्नु रहेको उनको भनाइ छ ।
बिहान ६ बजे बिद्यालय प्रवेश गरेकी उनी साँझ ८ बजे मात्रै विद्यालयबाट घर फर्किन्छिन् । महिला भएर पनि विद्यालय सुधारमा उनले देखाएको सक्रियता सबैका लागि अनुकरणीय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईंले बताए । उनले भने– ‘महिलाले गर्दैनन् होइन अवसर पाए गरेर देखाउँछन्, गर्ने अवसर प्रदान गर्न सक्नुप¥यो । अम्बिका मेडमको सक्रियता सबैका लागि अनुकरणीय छ ।’
२०७४ साल भदौ २२ बाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी श्रेष्ठले देवी माविलाई नगरकै नमूना विद्यालय बनाएकी छिन् । नमूना बनाउन व्यवस्थापन समिति र शिक्षकको पनि उत्तिकै साथ रहेको उनको भनाइ छ । उनी भन्छिन्– ‘मेरो एक्लो प्रयासले देवी मावि यो अवस्थामा आएको पक्कै होइन, यो विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउन अभिभावक, शिक्षक र व्यवस्थापन समिति तथा यहाँका अग्रजको पनि भूमिका उत्तिकै छ । अब हिजोको देवी मावि होइन, देवी माविले नयाँ गति लिएको छ ।’
विद्यालय सुधारका लागि उनी शनिबार समेत विद्यालय आउने गरेकी छिन् ।
दिनहुँ विद्यालयको रेखदेख गर्नु, निर्मााणधीन भवनको हेरचाह गर्नु, विद्यालय हाताभित्र बनाइएका छाप्रालाई हटाएर सुविधासम्पन्न भवनमा कहिले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिएला भन्ने चिन्ता रहेको उनी बताउँछिन् । वर्षेनि विद्यार्थी संख्या बढ्दै गएपछि विद्यालयको भौतिक संरचना थप गर्नु र शिक्षकको व्यवस्थापन गर्नु उनको प्रमुख समस्या हो । त्यही तारतम्य मिलाउन उनी शनिबार पनि विद्यालय आउने गरेकी छिन् । विद्यालय आए लगत्तै उनी दाताको खोजीमा जुट्छिन् ।
बिर्तामोड निवासी समाजसेवी खनुपरुदे रामबाबु प्रसाईंले आफ्ना बुबा देवीप्रसाद प्रसाईंको स्मृतिमा प्रदान गरेको जग्गामा सो मावि अहिले सञ्चालनमा छ । बिद्यार्थीको चाप उच्च भएपछि भएका कक्षा कोठाले मात्र नपुगेपछि अहिले पनि छाप्रामा बिद्यार्थी राखेर पठनपाठन गराइँदै आएको बताइएको छ । नगरका अन्य केही सुविधासम्पन्न, भौतिक पूर्वाधारयुक्त विद्यालय भए पनि विद्यार्थीको रोजाइ भने देवी मावि बनेको छ ।
विज्ञान संकायमा समेत पठनपाठन हुन थालेपछि विद्यार्थीको चाप थेग्नै विद्यालयलाई समस्या भएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनी भन्छिन्– ‘आलटाले पाराले चल्दैन, आएका विद्यार्थीलाई भर्ना लिन्नँ भन्न पाइँदैन । अहिले पनि विद्यार्थी धेरै भएर ‘ड्रप आउट’ गरेर पढाउँदै आएका छौं । जुन कोठा खाली हुन्छ, त्यही कोठामा बिद्यार्थी लगेर पढाउनुको विकल्प छैन ।’
ताप्लेजुङको नाङ्खोल्याङ्ग फुवामा जन्मिएकी उनी निजी श्रोतवाट २०५३ सालदेखि शिक्षाण पेशामा आवद्ध भइन् । केही समय चारआलीमा रहेको शहीद दशरथचन्द्र माविमा शिक्षण गरिन् । देवी मावि आएको केही समयपछि प्रधानाध्यापक बनेकी उनले एमएस्सी गरेकी छिन् भने गौरादह बहुमुखी क्याम्पसबाट एमएड गरेकी छिन् । अध्ययनसँगै अध्यापनमा जुटेकी उनको सपना देवी माविलाई नमूना विद्यालय बनाउनु रहेको छ ।
प्रधानाध्यापक श्रेष्ठको सफलतामा उनका श्रीमान् उमेश साहको पनि उत्तिकै साथ छ । उनी सोही विद्यालयका शिक्षक हुन् । घरको सम्पूर्ण घर व्यवहार हेर्दै साहले श्रीमती अम्विकालाई देवी माविको शैक्षिक गुणस्तर सुधारमा पूर्ण साथ दिएका छन् । श्रीमानको समेत साथ पाएर प्रधानाध्यापक श्रेष्ठले घरमा भन्दा धेरै समय विद्यालयलाई दिएकी छिन् । श्रेष्ठ भन्छिन्– विद्यालयको कामले गर्दा म शनिवार पनि भन्न पाउँदिन, के शनिवार के आइतवार मेरा लागि उस्तै हो । फरक यतिमात्रै छ कि शनिवार चाहिँ पढाउनु पर्दैन ।’
देवी मावि मात्र होइन जिल्लामा रहेका केही सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित सफल नेतृत्वले छोटो समयमा उल्लेख्य प्रगति गरेका छन् । दरवन्दी थोरै भएर पनि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा देवी मावि उदाहरणीय छ । जहाँ दरवन्दी थोरै विद्यार्थी संख्या धेरै छ । नर्सरीदेखि १० कक्षासम्म सो विद्यालयमा एक हजार ६ सय ४० विद्यार्थी अध्ययनरत् छन् । शिक्षा विभागको तथ्याङ्क अनुसार थोरै दरवन्दी भएर पनि धेरै बिद्यार्थी पढाउने विद्यालयका रुपमा देवी मावि देशभरकै लागि नमूना विद्यालय हो ।

