Aamsanchar

अनलाइन प्रणालीमा सुधारको माग

Author Image
सोमवार, मंसिर १०, २०७५

काठमाडौँ,

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् ।

शेयर लगानीकर्ताले आज नेप्सेको कार्यालय परिसरमा भेला भएर अनलाइन कारोवार प्रणालीमा तत्काल सुधारका साथै व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए । शेयर लगानीकर्ताले हाल यस क्षेत्रका ब्रोकर (दलाल) मार्फत कारोवार गर्दै आएका छन् ।

स्टक एक्सचेञ्जले गत कात्तिक २० गतेदेखि ‘नेप्से अनलाइन कारोवार प्रणाली’ सञ्चालनमा ल्याएको हो । आइतबार शेयर कारोवार भइरहेको समयमा प्रणालीमा प्राविधिक समस्या आएपछि एक्कासी अवरोध भएको भन्दै लगानीकर्ताहरुले आक्रोस पोखेका थिए ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता सङ्घ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता सङ्घ र नेपाल पूँजी बजार सङ्घको आह्वानमा लगानीकर्ताले पूँजी बजार सुधार तथा विस्तारका रणनीतिक काम गर्न समेत माग गरेका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोवार प्रणालीमा शुरुमा केही प्राविधिक समस्या आए पनि सुधार हँुदै गएको बताउनुभयो । उहाँले लगानीकर्ता नयाँ प्रणालीमा अभ्यस्त भएपछि छिट्टै सम्पूर्ण लगानीकर्तालाई व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराइने जानकारी दिनुभयो ।

Views: 118

प्रतिक्रिया (०)