Aamsanchar

मापसे चेकमा खटिएका प्रहरीलार्इ हातपात गरेको आरोपमा हवल्दार सहित तीन पक्राउ

Author Image
बुधवार, मंसिर १२, २०७५

मोरङ,

मोरङको कटहरी गाउँपालिका १ स्थित महेशपुरमा मादक पदार्थ सेवन (मापसे) जाँचको बिषयलाई लिएर भएको झगडामा प्रहरी हवल्दार सहित तीन जना पक्राउ परेका छन् ।

सोमबार राति मापसे गरेर प्रहरी माथि हातपात गरेको आरोपमा एक जना बहालवाला हवल्दार सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका १ का ४५ वर्षीय अनन्तराम चौधरी, ५५ वर्षीय जोगनारायण चौधरी र एक नम्बर प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका हवल्दार सवद नारायण रहेका छन् । हातपातमा संलग्न अन्य चार जना भने फरार छन् ।

चेक गर्ने क्रममा युवाहरुले प्रहरीसँग विवाद गरेकै समय हवल्दार चौधरीले भीडलाई उक्साएर प्रहरीमाथि जाइलाग्न प्रेरित गरेका थिए । चेक गर्ने क्रममा झडप हुँदा टाउकोमा बियरको बोतल लागेर प्रहरी जवान रोजन राई घाइते भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन् । झडपमा स्थानीयले प्रहार गरेको ढङँगा लाग्दा सिटी बैंक सिआरभी प्रहरी पोष्टको ना १ झ ९२० नम्बरको जिपको सिसा पनि फुटेको थियो ।

मोरङ प्रहरीका एसपी मनोज केसीका अनुसार मापसे गरेर प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ परेका तीनै जना विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ ।

उता महेशपुरबासीले प्रहरीले ड्युटी र चेक गर्ने नाममा गाउँ पसेर ज्यादती मच्चाएको आरोप लगाउँदै मंगलबार बिराटनगर स्थित मन्त्री ईश्वर पोखरेल सहभागी कार्यक्रम स्थलमा केही बेर प्रर्दशन गरेका थिए ।-नयाँपत्रिकाबाट

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर