Aamsanchar

जसको पहलमा कैयौंले बाँच्न पाए

Author Image
बिहिवार, मंसिर १३, २०७५

एकराज गिरी

लालराज सुवेदी मानवअधिकार क्षेत्रमा गहकिलो नाम हो । मानव अधिकारसँगै समाजसेवामा समेत क्रियाशील उहाँको ६६ वर्षको उमेरमा भएको निधनले समाजमा अपूरणीय क्षति पुगेको छ । लालराज कुनै पनि विवाद, द्वन्द्व तथा समसामयिक छलफलका विषयमा हरेक समय कुशल, सक्षम र अग्रणी सहजकर्ताको रुपमा प्रस्तुत हुने गर्नुहुन्थ्यो । उहाँको अर्को पहिचान थियो सहजकर्ता ।

विगत सात वर्षबाट झापामा राजनीतिक, सामाजिक लगायतका द्वन्द्व, विवाद तथा सवालमा काम गर्दै आएको, समसामयिक बहस चलाउँदै आएको संवाद समूहमा उहाँले स्थापनाकालदेखि नै योगदान गर्नुभयो । हरेक संवाद र छलफलमा उहाँको सहभागिता, क्रियाशिलता, प्रस्तुति महत्वपूर्ण हुन्थ्यो । उहाँसँगै म पनि संवाद समूहका वैठकहरुमा सहजीकरणको भूमिकामा हुन्थें । जिल्लाका हरेक राजनीतिक दल, प्रशासनिक क्षेत्र, सामाजिक संघ–संस्था, नागरिक समाज सबै क्षेत्रमा उहाँको आफ्नै परिचय र प्रभाव थियो ।

लालराज सुवेदी मेरा पिताको उमेरकै हुनुहन्थ्यो । तर, उहाँसँग मैले विभिन्न कामको सिलसिलामा लामो सहकार्य गर्ने मौका पाएँ । त्यसबाट पनि मैले उहाँलाई नजिकबाट चिन्न सकेँ । २०५६ सालपछि झापामा भ्रष्टाचारविरुद्ध सामाजिक अभियान सञ्चालनका लागि स्वःस्फूर्त रुपमा असल शासन क्लवहरु स्थापना भए । साविक सुरुङ्गा–१ मा प्रजापति असल शासन क्लवको अध्यक्ष भएर म र साथीहरुले अभियान अघि बढाएका थियौं । त्यही अभियानको क्रममा क्लवले सञ्चालन गर्ने तालिम, अन्तरक्रिया सार्वजनिक बहसहरुमा लालराज सुवेदी र कुलदीप गिरीको सक्रिय सहभागिता र आतिथ्य रहने गथ्र्यो ।


कुलदीप गिरीसँग उहाँको अत्यन्त घनिष्टता र सहकार्य थियो । दुबैजना अधिकारकर्मीको रुपमा हरेक ठाउँमा ‘महजोडी’ झैं देखिनुहुन्थ्यो । तर, कुलदीप गिरीको सडक दुर्घटनामा केही वर्षअघि नै गरामनीमा निधन भयो । त्यसपछि विष्णु खरेल, रुपक खनाल लगायत अन्य अधिकारकर्मीहरुसँग उहाँले नजिक रहेर मानवअधिकार अभियानलाई निरन्तर अघि बढाइरहनुभयो । मैले उहाँलाई चिनेकै मानव अधिकारवादीको रुपमा हो । प्रजापति असल शासन क्लवले २०६० सालतिर सुरुङ्गामा एक सय १० भन्दा बढी संस्थाको सहभागितामा बृहत् शान्ति र्याली गरेको थियो । त्यसमा उहाँले मानवअधिकारवादीको रुपमा मलाई सल्लाह, सुझाव र सहयोग पुर्याउनुभएको थियो । लालराज सुवेदीलाई म ‘बा’ भनी सम्बोधन गर्थेँ । मैले ‘बा’ भनेर बोलाएपछि उहाँले ‘है’ भन्नुहुन्थ्यो । तिनै बालाई गुमाउँदाको यो क्षण अत्यन्त पीडाबोध भइरहेको छ मलाई ।

लालराज सुवेदीको निधनको खबर मैले सामाजिक सञ्जाल फेसबुकमार्फत थाहा पाएँ । मंसीर १ गते मानवअधिकारकर्मी तथा लेखक विष्णु खरेलको फेसबुकबाट मैले यो खबर पाएको थिएँ । त्यतिबेला म भ्रमणको क्रममा फिलिपिन्समा थिएँ । म स्तब्ध भएँ, फेसबुकमा श्रद्धाञ्जलिसम्म लेख्न हात लागेन । किनभने विश्वास लागिरहेकै थिएन । तर, पनि यथार्थ त्यही थियो ।

पछिल्लो समय उहाँ दुईपटक अलि सारै विरामी पर्नुभयो । काठमाडौंमै उपचार गराउनुभयो । मलाई फोन गरेर– विरामी परें भतिज, साथीभाइलाई जानकारी पनि हुन्छ, समाचार बनाइदेऊ भन्नुभयो । हामीले पूर्वाञ्चल दैनिकमा समाचार प्रकाशित गर्यौं । काठमाडौंबाट झापा आएको केही समयपछि उहाँले मलाई फोन गरेर भेट्न बोलाउनु भएको थियो । कार्यव्यस्तताले उहाँले भनेको समयमा म पुग्न सकिँन । मैले अर्कोदिन उहाँलाई भेट्नका लागि फोन गरेँ, तर उहाँ फेरि उपचारका लागि काठमाडांै पुगिसक्नुभएको रहेछ । उहाँले आफूलाई अलिक असहज र गाह्रो भइरहेको सुनाउनु भयो । हामीले फेरि ‘अधिकारवादी लालराज सुवेदी’ अस्वस्थ भनी समाचार प्रकाशित गर्यौं । त्यसको केही दिनपछि नै उहाँको निधन भयो ।

द्वन्द्वकालमा उहाँले मानवअधिकार रक्षाका लागि गर्नु भएको योगदान अनुकरणीय छ । उहाँको योगदान महत्वपूर्ण र उत्तिकै प्रशंसनीय छ । त्यस्ता धेरै घटना छन् जसमध्ये सशस्त्र युद्धरत् माओवादीले अपहरण गरेका चिया बगानका प्रबन्धकहरुलाई उहाँ र म लगायतको रोहवरमा रिहा गरेको घटना आज पनि मलाई ताजै लाग्छ । मानवअधिकारकर्मीको रुपमा उहाँ, म, सञ्चारकर्मी मिनप्रकाश उप्रेती लगायतको टोली माओवादीले दिएको स्थान पहिल्याउँदै गयौं, घेराबारीमा एउटा घरमा राखिएका उनीहरुलाई हाम्रो रोहबरमा छोडिएको थियो । त्यहाँ पुग्न माओवादीले हामीलाई शुरुमा चारपानेचोक, त्यहाँबाट डाँगीबारीको बिहीबारे हुँदै चकचकी, राजगढबाट अन्तिममा घेराबारीको लोकेशन दिएर पुर्याएका थिए ।

सुरक्षा संवेदनशीलताका कारण त्यो उनीहरुको रणनीति थियो । त्यसमा कुनै आपत्ति नगरी लालराज सुवेदीसहितको हाम्रो टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुन समय खर्चियो, दुःख र पीडा झेलियो ती सबै अपहरणमा परेका चिया बगानका प्रबन्धकहरुलाई मुक्त गराउन पाउँदा बिर्सियो । सामान्य असावधानी भएको भए उनीहरुको ज्यान पनि जान सक्थ्यो । तर, बढो सावधानीका साथ कुराकानी गर्दै उनीहरुको स्वतन्त्रपूर्वक बाँच्न पाउने मानवअधिकारको रक्षा भयो । त्यस्ता धेरै घटना छन्, धेरै मानिसहरु छन् जसले लालराज सुवेदी लगायत मानवअधिकारवादीहरुको पहलमा जीवन पाएका छन् ।

उहाँ बाँचुञ्जेल मानवअधिकारकै क्षेत्रमा सक्रिय हुनुहन्थ्यो । मानव अधिकार सञ्जाल झापाको अध्यक्ष, मानव अधिकार संरक्षण संयुक्त मञ्च पूर्वाञ्चलको संयोजक हुनुहुन्थ्यो उहाँ । त्यसअघि राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको संयोजक समेत बन्नुभएका उहाँ मानवअधिकार रक्षक परिषद्को आजीवन सदस्य समेत हुनुहुन्थ्यो । मानवअधिकारवादीकै रुपमा उहाँले धेरै राष्ट्रिय तथा स्थानीय निर्वाचनको पर्यवेक्षण समेत गर्नुभयो । निर्वाचन सम्बन्धी पर्यवेक्षण गर्ने संस्थाको नेतृत्वमै रहेर उहाँले योगदान गर्नुभएको थियो । उहाँ रहेको समितिमा मलाई पनि पर्यवेक्षकमा सहभागी गराउनुहुन्थ्यो । मैले पनि उहाँकै नेतृत्वमा धेरैवटा निर्वाचनको पर्यवेक्षण गर्ने अवसर पाएको थिएँ ।

उहाँको एउटा सपना र लक्ष्य थियो– पुस्तक प्रकाशन गर्ने । उहाँले मानवअधिकार लगायत धेरै विषयमा पुस्तक प्रकाशनका लागि आवश्यक सामग्रीहरु पाण्डुलिपिको रुपमा तयार गरिसक्नुभएको मैले बुझेको छु । केही पाण्डुलिपि त उहाँले मलाई समेत देखाउनुभएको थियो । उहाँ ती पाण्डुलिपिलाई कम्प्युटरमा टाइप गरिदिने र तत्काल पुस्तक छापिदिने छापाखानाको खोजी गर्दागर्दै अस्वस्थ बन्नुभएको थियो । मानवअधिकार, सामाजिक सेवा लगायतका क्षेत्रमा उहाँले गर्नुभएको योगदान र उहाँको क्रियाशीलता सबैको लागि प्रेरणादायी र अनुकरणीय छ । उहाँको सपना र लक्ष्य रहेको पुस्तक प्रकाशन गरिदिनु परिवार र उहाँसँग निकट रहेका अधिकारकर्मी लगायत सबैको दायित्व हुन आउँछ । त्यसैले उहाँको निधनपछि भए पनि त्यो सपना र लक्ष्य पूरा गरिदिन म सम्बन्धित सबैमा आग्रह गर्दछु ।

मानवअधिकार अभियानका साथै उहाँ धेरै संस्थामा आबद्ध रहेर सामाजिक सेवा क्रियाशील रहनुभयो । सहारा नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ लालराज सुवेदी । यसकारण पनि लालराज सुवेदी र सहारा नेपाल आज सबैका लागि गर्वका नाम हुन् । हाल उक्त संस्थाको संरक्षक रहनुभएका उहाँ सहारा साकोसका पूर्व सल्लाहकार, सहारा कृषि अनुसन्धान कम्पनी लि.का सञ्चालक सदस्य हुनुहुन्थ्यो ।

नेपाल युवक संगठन घैलाडुब्बाको सभापति, घैलाडुब्बा गाउँ पञ्चायतको उपप्रधानपञ्च रहेर नागरिकको सेवा गर्नुभएका उहाँ दुर्गापुर साझा सहकारीका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । त्यस्तै नेपाल परिवार नियोजक संघ, नेपाल रेडक्रस सोसाइटी झापाको आजीवन सदस्य, ज्येष्ठ नागरिक झापाको सदस्य हुनुहुन्थ्यो उहाँ । शिक्षण संस्था व्यवस्थापनमा पनि उहाँको विशेष भूमिका र योगदान थियो । घैलाडुब्बाको आदर्श विद्या मन्दिर, हिमाली आधारभूत विद्यालय लक्ष्मीपुरको व्यवस्थापन समिति अध्यक्ष नै भएर उहाँले योगदान गर्नुभएको थियो । धार्मिक क्षेत्रमा समेत उहाँको आस्था र योगदान थियो । दुर्गा मन्दिर शितल चोकको अध्यक्ष रहेर उहाँले काम गर्नुभएको थियो ।

पिता लक्ष्मीप्रसाद र माता विद्यालोकका ज्येष्ठ सुपुत्र भई २००९ साल चैत १५ गते भारतको आसामस्थित आलेपुरमा उहाँको जन्म भएको थियो । चार महिनामै उहाँले आफ्नी मातालाई गुमाउनुपर्यो । आमाको मायाबाट वञ्चित भएपछि त्यहीबेलादेखि उहाँको पालनपोषण र रेखदेखका लागि भोजपुरको साविक मुलपानी गाविस हाल षडानन्द नगरपालिका–४ दिङ्लास्थित आफ्नी हजुरआमाको साथमा पुर्याइयो । आठ वर्षसम्म उहाँकी हजुरआमा जनमाया सुवेदीले राम्रोसँग उहाँको पालनपोषण गरी हुर्काएको पारिवारिक स्रोतले जनाएको छ । त्यसपछि जीवनयात्राको क्रममा २०१८ सालमा बसाइँ सरी झापाको साविक पाराखोपी, दहीझोडा, दुर्गापुर हुँदै २०३५ सालदेखि साविक घैलाडुब्बा गाविस वडा नं. ९ र हाल कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा स्थायी बसोबास गर्दै आउनुभएको थियो ।

२०२७ साल फागुन १० गते उहाँ र धनकुमारी हुमागाईबीच वैवाहिक सम्बन्ध कायम भयो । संखुवासभाको चन्दनपुरका सोमनाथ र मोहनकुमारी हुमागाईकी माइली सुपुत्री धनकुमारीसँग विवाह गर्नुभएका उहाँका दुई छोराहरु सेवन्तराज र बेनुराज र छोरी पुनम हुनुहुन्छ । उहाँका बुहारीहरुमा प्रमिला र पूजा तथा ज्वाइँ प्रेम बोहोरा हुनुहुन्छ । मानवअधिकार तथा समाजसेवामा विशिष्ठ योगदान पुर्याउँदै आउनुभएका उहाँले परिवारका सदस्यलाई समेत दुःख नदिई आफ्नो भौतिक शरीर त्याग गर्नुभयो । लिभर, प्रेसर र सुगर लगायतका समस्याबाट पीडित उहाँको निधनबारे चिकित्सकले समेत पूर्वानुमान लगाउन नसकेको पारिवारिक स्रोतले जनाएको छ । हिँड्दाहिँड्दै, खाँदाखाँदै र बोल्दाबोल्दैको अवस्थामा उहाँको निधन भयो ।

उहाँको निधनको आज १३औं दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै शोकाकुल सुवेदी परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको राशिफल
बुधवार, पौष १०, २०८१
पोखरामा बेलुन महोत्सव सुरु
मङ्गलवार, पौष ९, २०८१