Aamsanchar

फेसबुकमार्फत ठग्ने सक्रिय,क्यानडा पठाउने भन्दै लाखौं रुपैंया असुली, बिर्तामोडमा चारवटा उजुरी दर्ता

Author Image
शुक्रवार, मंसिर १४, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड।

युरोपियन मुलुकमा गएर राम्रो पैसा आर्जन गर्ने सपना कस्को हुँदैन र ? धेरै धन कमाउने अनि सुखले जीवन जिउने सपना हरेक व्यक्तिको हुनु स्वाभाविकै हो, तर छोटो समयमा नै धेरै कमाउने लोभमा पर्दा धेरैको जिन्दगी बर्बाद भएको पाइएको छ ।

६ महिना अघि गोरखाका एक व्यक्ति अशोक (नाम परिर्वतन) ले आफूलाई क्यानडाको पिआर पाई क्यानडामा नै बस्ने गर्छु भन्दै झापाका एक व्यक्तिलाई सामाजिक सञ्जालमार्फत चिनजान गरी आमा बिरामी भएर आएको र आमाको उपचार भारतको शिलगढीमा हँुदै गरेको सुनाए । क्यानडामा रोजगारीको राम्रो अवसर भएको तर भारतबाट मात्र जान मिल्ने भन्दै पहिलो भेटमा नै तीन लाख ५५ हजार रुपैयाँ हात पारेपछि उनी सम्पर्कविहीन भए ।

त्यस्तै धनुषा घरभएका रमेश (नाम परिर्वतन) लाई पनि क्यानडामा नै राम्रो राजेगारी पाउने तथा तलब पनि धेरै कमाउन सकिने प्रलोभनमा पारेर भारतबाट मात्र जान मिल्ने तथा प्रक्रिया शुरु गर्नका लागि रकम आवश्यक पर्ने भन्दै दुई लाख एक हजार रुपैयाँ हात पारेपछि फेसबुक बन्द गरेको तथा कुनै पनि सम्पर्कमा नआएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी परेको छ ।

ठगी गर्ने व्यक्तिले जसलाई ठग्ने गरेको छ, उसका सबै विवरण हेरेर चिनेझैं व्यवहार गर्दै विश्वासमा लिएर ठगी गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय अनारमनीमा हालसम्म यस्ता प्रकृतिका ४ वटा उजुरी दर्ता भइसकेका छन् ।

अधिकांशलाई क्यानडा लैजाने भन्दै युवायुवतीलाई प्रभावमा पारेर भारतका शिलगढी, पानीट्याङ्की लगायतका स्थानमा बोलाएर रकम लिने र रकम हात पारेपछि सम्पर्कविहीन हुने गरेको घटना बढ्दै गएको डीएसपी कोइरालाले बताए । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ ।

फेसबुक, ट्वीटर, इमो, भाइबरलगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । सामाजिक सञ्जालका माध्यमबाट सयाँै युवायुवतीको भविष्य बिग्रिएको छ भने कैयौँ मानिस ठगिएका छन् । सामाजिक सञ्जालका कारण अहिले बढी मात्रामा युवापुस्ता प्रभावित बन्दै गएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।

सामाजिक सञ्जालका कारण विश्व साघुरिँदै गएको छ भने आपराधिक गतिविधि बढ्दै गएका छन् । यसको दुरुपयोग गर्दै कतिपयले ठग्ने, अश्लील फोटो तथा भिडियोको माध्यमले चरित्र हत्या गर्ने जस्ता काम गरेको प्रहरीको भनाइ छ । चेतनाको कमीका कारण सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप हुने गरेको भन्दै यस्तालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।

कानूनी रूपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

ठगीमा एकै शैली

प्रहरीमा आएको उजुरीका आधारमा ठगी धन्दामा संलग्नहरुले एउटै शैली अपनाउने गरेको देखिन्छ ।
प्रारम्भमा उनीहरुले नक्कली नाममा फेसबुकमा खाता खोलेर आफू अमेरिका, क्यानडालगायतका देशमा बस्ने गरेको परिचय राख्छन् र विभिन्न व्यक्तिलाई साथी बन्न अनुरोध पठाउँछन् । अनुरोध स्वीकार भएपछि बिस्तारै च्याट शुरु गर्छन् ।

च्याटका क्रममा बेरोजगार रहेको र विदेश जाने प्रयासमा रहेकाहरु भेटिएपछि उनीहरुले आफूले सहयोग गर्ने वचन दिन्छन् र सहजै विश्वास गर्छन् । यस्तो धन्दामा लाग्नेहरु नेपालमै रहे पनि आफू विदेशमा रहेको बताउँछन् र नेपालमा आएका बेला भेट्ने बाचा गर्छन् । केहीले सम्बन्ध विस्तार गरेर पछि ठगी गर्छन् ।

त्यसको केही समयमै उनीहरुले आफू नेपाल आएको बताउँदै फेसबुकमा साथी बनेकासँग भेट गरेर सहजै विदेश जान सक्ने प्रलोभन दिन्छन् र विदेश जान चाहनेले पनि सहजै पैसा दिने गरेको देखिन्छ । पैसा पाएपछि ती व्यक्ति एकाएक सम्पर्कविहीन हुने गरेका छन् । विशेष गरेर पढ्दै गरेका तथा विदेश गएर अध्ययन गर्न तथा युरोपियन देश रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई सहजै प्रभावमा पार्ने गरेको प्रहरीको भनाई छ ।

Views: 318

प्रतिक्रिया (०)

सम्बन्धित खबर