दमक।

दमक नगरपालिकाको दुईवटा वडाका बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि दमकको वडा नं. ३ र १० वडाका बासिन्दाहरुले सहजै खानेपानी पिउन पाएका छैनन् ।

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार दमक नगरपालिकाको १० वटा वडाहरुमध्ये वडा नम्बर ३ र १० मा भने हालसम्म खानेपानीको धारा पुर्याउन सकिएको छैन ।
दमकको ३ र १० वडा बाहेकका नगर क्षेत्रमा स्वच्छ पानी वितरण गर्दे आएको सो संस्थामा हालसम्म उपभोक्ताको सख्या नौ हजार तीन सय ६५ पुगेको छ । गत असार मसान्तसम्म नौ हजार १५ थियो भने असार मसान्तपछि हाल नयाँ तीन सय ५० जना उपभोक्ता थपिएको व्यवस्थापक कृष्ण थापाले बताए ।

उनका अनुसार सवैभन्दा बढी नगरका चौक, बजार क्षेत्रका १, ५, ६, ७ र ८ वडामा धारा छन् । ती मध्ये वडा नम्बर १, २ र ९ वडामा आधा घरधुरीले मात्र धारा जडान गरेका छन् । खानेपानी नपुगेको दुई वडामा स्थानीय स्तरमा नयाँ खानेपानीको आयोजना सञ्चालन गर्न तयारी थालिएको पनि उनले जानकारी दिए ।
गतवर्ष संस्थाले खानेपानी महशुल, मिटर बिक्री, सदस्यता कार्ड नविकरण, निवेदन दस्तुर मार्फत मात्र कूल रु. पाँच करोड ६२ लाख ७१ हजार नौ सय २० रुपैयाँ संकलन गरेको छ भने चालू वर्षमा रु. ५ करोड २० लाख ८२ हजार तीन सय २९ रुपैयाँको अनुमानित महशुल संकलन गर्ने लक्ष्य राखेको छ ।
गएको वर्ष देशभरिका खानेपानी आयोजना मध्ये प्रगति मूल्याङ्कनका आधारमा उत्कृष्ठ भएको दमकको खानेपानी वितरण प्रक्रियालाई थप पहुँच बृद्धि गर्न तयारी थालिएको संस्थाका अध्यक्ष पशुपतिराज गौतमले बताए ।
दमकमा तीन वटा ट्यांकी मार्फत गएको वर्ष २२ लाख ९६ हजार आठ सय घनमिटर पानी उत्पादन भएको थियो भने दैनिक करिब ६३ लाख लिटर पानी वितरण हँुदै आएको संस्थाले जनाएको छ ।
त्यस्तै, गएको वर्ष नै पानी उत्पादन मध्ये २१ लाख ८१ हजार एक सय ९६ घनमिटर पानी वितरण, दुई लाख ८३ हजार पाँच सय ५६ घनमिटर पानी लिकेज, १८ लाख ९७ हजार सात सय १८ घनमिटर उपभोक्ता मिटरबाट खपत र प्रतिमहिना प्रतिधारा १७.५४ घनमिटर पानी वितरण हँुदै आएको व्यवस्थापक थापाले जानकारी दिए ।

