बिर्तामोड ।



पूर्वको प्रमुख व्यापारिक केन्द्रविन्दूका रुपमा परिचित झापाको बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ देखि २३ गतेसम्म ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’ हुने भएको हो ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवका विषयमा संघले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संघका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्रहरुका लगानी कर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराउने कार्यक्रम रहेको बताए ।


चार भागमा विभाजन गरिएको महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने कार्यक्रम संयोजक प्रकाश शिवाकोटीले जानकारी दिए । प्रदर्शनी कक्षमा अलग– अलग परिसर बनाई अटो मोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तराष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटनसम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल रहने महोत्सव समारोहका सचिव सञ्जीव घिमिरेले जानकारी दिए ।
मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत सहभागिता रहने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिए । चीन र थाइल्यान्डका व्यापारीसँग समेत स्टलबारे कुराकानी भइरहेको उनले बताए । विशिष्ठ खालका स्टलहरुले सजाइने मेलामा कलाकृत्तियुक्त मुल प्रवेशद्वारको निर्माण गरिनेछ । मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको आकर्षक दैनिक सांगीतिक प्रस्तुति रहनेछ । साथै, विविध जातीय पहिचानको झाँकी र लोकदोहोरी समेत प्रस्तुत हुनेछ । बाल उद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेलहरुका स्टल रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टका साथै जातीय खानपानका विभिन्न स्टलहरु रहनेछ ।
महोत्सवमा मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाइफाइ जोन, प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय खानेपानी तथा पार्किङको व्यवस्था हुनेछ । व्यापार प्रवद्र्धनका लागि विभिन्न विषयका सेमिनार हुनेछ भने कृषि उत्पादनको प्रवद्र्धनका लागि माटोरहित खेती प्रविधि लगायतका स्टल हुनेछन् । स्थानीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पु¥याउने महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सवमा २०० स्टल हुनेछन् । एक करोड ५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने र करिब २ लाख मानिसहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ । तीन बिघा तीन कठ्ठा क्षेत्रमा रहने महोत्सव अवलोकनका लागि ५० र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट दरको व्यवस्था गरिएको छ । महोत्सवको मुख्य प्रायोजक रमपम चाउचाउ रहेको छ भने सहप्रायोजकमा सहारा नेपाल साकोसलागयतका संस्था रहने छन् ।
सुरक्षाका लागि महोत्सव स्थलमा सुरक्षाकर्मीका अतिरिक्त सिसी टिभीबाट २४ घण्टा निगरानी गरिनेछ । महोत्सव बिर्तामोड ५ स्थित धर्मकाँटाको उत्तर मातामन्दिर जाने बाटोका छेउमा हुनेछ । उत्पादक तथा आमग्राहक वर्गको चाहनाअनुरुप नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै स्थलमा अवलोकन गराउने जमर्को स्वरुप महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष बलराम कार्कीले जानकारी दिए । बिर्तामोड क्षेत्रको व्यापारलाई अन्तर्रा्ष्ट्रियस्तरबाट प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनको भनाइ छ । कार्यक्रमको सञ्चालन संघका महासचिव प्रशान्त भण्डारीले गरेका थिए ।

