

मेचीनगर १४ स्थित हडिया रेगुलेटर सिंचाइ जल उपभोक्ता संस्थाको कार्यालय प्रयोजनका लागि स्थानीय शंकर सुवेदीले सोही स्थानमा आफ्ना परमधामबासी बुबाका नाममा १० धुर जग्गा उपलब्ध गराएका छन् । संस्थाको आफ्नै सचिवालय नभएकाले विभिन्न कार्य गर्न असहज भइरहेको अवस्थामा सुवेदीले उपलब्ध गराएको उक्त जग्गामा संस्थाको कार्यालय भवन निमार्ण गर्ने बताइएको छ । सुवेदीले उपलब्ध गराएको जग्गा सम्म जाने बाटो निमार्णका लागि स्थानीय चुडामणी सुवेदी र कृष्ण ओझा समेतले केही जग्गा उपलब्ध गराएका छन् ।

भवन निमार्ण हुने भएपछि CMISP-AF कार्यक्रमका तर्फबाट केही रकम विनियोजन भएको छ भने उपभोक्ता सहित स्थानीय तहहरुले पनि भवन निमार्ण कार्यमा सहयोग रहनेछ । दुइ तले पक्की सुविधा सम्पन्न सचिवालय भवन आगामी आर्थिक वर्ष भित्र निमार्ण गर्ने लक्ष्य लिइएको संस्थाका सचिव अनिल ढुंगानाले बताएका छन् ।
३५० हेक्टर भन्दा बढी जमिन सिंचित हुने आयोजनाबाट करिब ५०० घर कृषकहलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । स्थानीय स्तरमा आयोजनाको रेखदेखका लागि हडिया रेगुलेटर जल उपभोक्ता संस्था कृयाशिल रहेको छ भने यसको मातहतमा विभिन्न ६ वटा कृषि सिंचाई समुहहरु गठन गरिएको छ ।

विभिन्न समयमा कृषकहरुलाई तालिम दिन, गोष्ठि संचालन गर्न, मलबीऊको भण्डारण तथा वितरण गर्न र संस्थाको दैनिक गतिविधी संचालन गर्न भवन उपयोगी हुने अध्यक्ष शंकर पोखरेलले जनाए ।
एसियाली विकास बैंकको लगानीमा निमार्णधिन अयोजनाको निगरानी डिभिजन सिंचाई कार्यालय भद्रपुर मार्फत भइरहेको छ ।

