Aamsanchar

झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, प्रहरी जवान घाइते

Author Image
शुक्रवार, पौष २०, २०७५

झापा ।

मालबाहक ट्रकको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ, भने एक प्रहरी जवान घाइते भएका छन्।

मृत्यु हुनेमा दमक नगरपालिका १ निवासी ४२ वर्षीय शिव लामिछाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका ४ स्थित एकता चोकमा शुक्रबार मे १ ख १९५७ नम्बरको मालबाहक ट्रकले लामिछानेलाई ठक्कर दिएका थिए। ट्रकको ठक्करबाट गम्भीर घाइते भई सडकमा लडिरहेका लामिछानेलाई प्रहरी चौकी केर्खाका टोलीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए। ट्रकसहित चालकलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। त्यसैगरी सोही घटनास्थलमा सुरक्षाका लागि पुगेका प्रहरी चौकी केर्खामा कार्यरत प्रहरी जवान पदमबहादुर दर्जीलाई ट्रकले ठक्कर दिएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान मोरङ बेलबारी नगरपालिका ८ निवासी दर्जीलाई उपचारका लागि विराटनगर न्यूरो अस्पताल पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिए। यता प्रहरीलाई ठक्कर दिने ना २ ख ३७९८ नम्बरको ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Views: 102

प्रतिक्रिया (०)