सुरेन्द्र भण्डारी/ बिर्तामोड ।

गत मंसीर ९ गते राति झापाको शिवसताक्षी नगरपालिका–७ स्थित लालझोडामा भएको आगलागीमा परी चार महिने शिशु टीकाराम खनालसहित पारिवारका चारै जनाले ज्यान गुमाए ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । तर, आगलागीका कारण ३५ वर्षीय लक्ष्मण खनाल उनकी श्रीमती राधिका खनाल, चार वर्षीया छोरी चन्द्र (सुप्रिया) र चार महिने छोरा टीकारामले सुतेकै ठाउँमा ज्यान गुमाए ।

राति भएको आगलागीका कारण जलेर मृत्यु भएका खनाल परिवारको शवको शेष प्रहरीले बिहान मात्रै फेला पा¥यो । शिवसताक्षी नगरपालिकामा वारुणयन्त्र (दमकल) नहुनु र आगलागी नियन्त्रणका लागि वाहिरबाट दमकल बोलाउनुपर्ने अवस्थाका कारण उनीहरुको जलेर मृत्यु भयो । घर मूलीसहित परिवारका सवै सदस्यको जलेर मृत्यु भएका काराण अझै पनि आगलागी के कारणले भयो प्रहरीले पत्ता लगाउन सकेको छैन ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालू आर्थिक वर्ष २०७५÷०७६मा जिल्लामा योसँगै ३८ वटा आगलागीका घटना भएका छन् । जसका कराण मानवीय क्षतिसहित लाखौंको धनमाल जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीका कारण तीन करोड ८६ लाख ७५ हजार पाँच सय रुपैयाँको धनमाल जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार आगलागीका कारण एक पक्कीसहित दुई घर जलेर नष्ट भए । उनका अनुसार आगलागीमा परी पशु चौपाय समेत जलेर मरेका छन् ।
अघिकांश आगलागीका घटना विद्युत् सर्ट, ग्यास सिलिण्डर लिक भएर र गोठमा खोले पकाउँदा पकाउँदै आगो फैंलिएर हुने गरेको प्रहरी उपरीक्षक ढकालले बताए । आगलागीमा परी दुई जना घाइते समेत भएका छन् । शिवसताक्षीमा भएको आगलागीमा परी स्थानीय एक महिला जलेर गम्भीर घाइते भएको प्रहरी उपरीक्षक ढकालले बताए ।
दमकलभन्दा बिलासीका साधन किन्न त छाड–मछाड
झापाका १५ वटा स्थानीय तहमध्ये केहीले मात्र दमकल खरिद गरेका छन् । दमकल नभएकै कारण आगलागी हुँदा समेत समयमै नियन्त्रण हुन नसक्दा लाखौं रुपैयाँको क्षति हुने गरेको छ ।
तर, स्थानीय तहले अत्यावश्यकीय सेवाका रुपमा रहेको वारुणयन्त्र खरिद गर्नुको सट्टा बिलासीका साधन खरिदका लागि लाखौं रुपैयाँ खर्च गरिरहेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले लाखौं रुपैयाँ पर्ने ठूला सवारी र हल्का सवारीका रुपमा रहेको मोटरसाइकलदेखि स्कुटरसम्म खरिद गरेका छन् । आठ नगरपालिका र सात गाउँपालिका रहेको झापाका १५ स्थानीय तहमध्ये सबैले वडाध्यक्ष हुँदै कार्यपालिका सदस्यसम्मलाई सवारी साधन खरिद गरिएको छ । केही वडाध्यक्षले भने उनीहरुलाई प्रदान गरिएको सवारीसाधन फिर्ता गरेपनि स्थानीय तहले ती सवारी साधन कि त प्रहरीलाई कि त अन्य कर्मचारीलाई बाँडेर प्रयोग गरिरहेका छन् । कतिपय जनप्रतिनिधिले स्थानीयतहको निर्णय बिनै सवारी साधान किनेर पछि बैठकबाट मात्रै निर्णय गराएका छन् ।
तर, तिनै जनप्रतिनिधिले अत्यावश्यकीय सवारी साधन दमकल किन्न चासो देखाएका छैनन् । जसका कारण आगलागीले सिङ्गो परिवार सखाप पार्दा समेत जनप्रतिनिधि रमिते मात्रै बन्ने गरेको सरोकारवालाले बताएका छन् ।
७ गाउँ र ३ नगरपालिकामा छैन दमकल
झापाका कुनै पनि गाउँपालिकाले अहिलेसम्म दमकल खरिद गरेका छैनन् । सात गाउँपालिका रहेको झापामा गाउँपालिकाहरुले विभिन्न कारण देखाउँदै दमकल खरिद नगरेका हुन् । त्यस्तै आठ नगरपालिकामध्ये मेचीनगर, भद्रपुर, बिर्तामोड, दमक र गौरादह नगरपालिकाले मात्रै दमकल खरिद गरेका छन् । अन्य नगरपालिकाले दमकल खरिद गरेका छैनन् ।
बरु उनीहरुले विकास निर्माणका लागि डोजर, जेसीवी, रोलर, ट्रिपर, ट्याक्टर लगायतका साधन खरिद गरेका छन् ।
केही पुराना नगरपालिकाले खरिद गरेका दमकलकै भरमा अन्य नगरपालिका र गाउँपालिका रहेका कारण समयमै दमकल घटनास्थलमा पुग्न नसक्दा वर्षेनि आगलागीका कारण लाखौं रुपैयाँको क्षति हुने गरेको छ ।
घोषणामै सीमित जनप्रतिनिधिको प्रतिवद्धता
स्थानीय तहको चुनावताका अधिकांश उम्मेदवारले आफूले चुनाव जिते स्थानीयतहबाट कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका थिए । तर, उनै उम्मेदवारले निर्वाचनको परिणाम घोषणा भएर शपथ खाए लगत्तै पहिलो निर्णयमै सवारी सवारी साधन खरिद गर्ने निर्णय गरे, त्यो पनि स्थानीय तह प्रमुखदेखि वडासदस्य र कार्यपालिका सदस्यसम्मलाई ।
चुनावका वेला कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका जनप्रतिनिधिले आफ्नो प्रतिवद्धता त पूरा गरेनन् गरेनन् अत्यावश्यकीय सवारी साधन किन्नुको सट्टा आफूखुशी निर्णय गराउँदै विलासीका साधन खरिद गरेर सरकारी सम्पत्ति दुरुपयोग गरेको उनीहरुमाथि आरोप लाग्न थालेको छ ।
सचेतनाको तयारी
आगलागीकै काराण मानवीय क्षति सहित लाखौं रुपैयाँको धनमालको क्षति हुन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले टोल–टोलमा सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
जसका लागि समुदायसँग सहकार्य गर्दै जिल्ला प्रहरी कार्यालय झापाले चेतना मूलक कार्यक्रम गर्न लागेको प्रहरी उपरीक्षक ढकालले बताए ।

