Aamsanchar

सहआयोजक महारानीगञ्जलाई प्रथम वडाध्यक्ष च्यालेन्ज कपको उपाधि

Author Image
आइतवार, पौष २२, २०७५

अर्जुनधारा।

वडा खेलकुद विकास समिति अर्जुनधारा–११को आयोजनामा आयोजित प्रथम वडाध्यक्ष जिल्लास्तरिय नकआउट फुटबल च्यालेन्ज कपको उपाधि सहआयोजक महारानीगञ्ज माध्यमिक विद्यालय सालबारीले जितेको छ ।

महारानीगञ्ज माविको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनल खेलमा जनता माध्यमिक विद्यालय खुदुनावारीलाई ०–२ गोल अन्तरले पराजित गर्दै महारानीगञ्जले उपाधि जितेको हो ।

महारानीगञ्जलाई जिताउन मनिष चौधरी र विशाल किस्कुले एक–एक गोल गरेका थिए । जितसँगै विजेता महारानीगञ्जले नगद २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा उपविजेता जनताले नगद १५ हजारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक महारानीगञ्जका पवन खड्का, उत्कृष्ट रक्षक जनताका करन कटुवाल, उत्कृष्ट फरवार्ड महारानीगञ्जका विशाल किस्कु, सर्वोत्कृष्ट गोलकर्ता जनताका सन्तु रैका मगर र फाइनल खेलको म्यान अफ दी म्याच महारानीगञ्जका मनिष चौधरी घोषित भएका थिए । गत मंसिर २८ गतेदेखि सञ्चालनरत् प्रतियोगितामा जिल्लाका ३२ वटा विद्यालयको सहभागिता रहेको महारानीगञ्ज माविका प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए ।


समितिका अध्यक्ष मोसेस खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतियोगिताको विजेता र उपविजेता विद्यालयका खेलाडीहरुलाई प्रमुख अतिथि वडा नम्बर ११का वडाध्यक्ष भैरवबहादुर खड्का, वडा नम्बर १०का वडाध्यक्ष बलदेवसिंह गोम्देन, बोर्ड सदस्य लक्ष्मी तामाङ राई, नगर सभा सदस्य मोहनकुमार योगी, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन मेचे, झापा जिल्ला फुटबल संघका कोषाध्यक्ष नगेन्द्रमण्ी लिम्बूलगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

सोही कार्यक्रममा पुर्व फुटबलर हाल झापा जिल्ला रेफ्री संघका अध्यक्ष प्रदीपकुमार बस्नेत, बुट्टाबारी सितोरीयो कराते डोजोका प्रशिक्षक ज्ञानेन्द्र थुलुङ र फुटबल खेलाडी खुशी राईलाई सम्मानित गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहीतमान ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव अर्जुन लम्जेल र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवकुश गौतमले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 344

प्रतिक्रिया (०)