काठमाडौं,

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो कुनै किसिमको संलग्नता नरहेको जिकिर गरेका छन् ।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री अधिकारीले २०७४ चैत ३ गते मन्त्रालयको नेतृत्व लिँदासम्म जहाज खरिद प्रक्रिया निकै अगाडि बढिसकेको र आफूले अन्तिम किस्ता मात्र स्वीकृत गरेको प्रष्टिकरण दिए ।
मिति २०७३ चैत १५ मा निगम र उल्लेखित कन्सर्टियमबीच भएको विमान खरिद-बिक्री सम्झौता एसपीए मा स्वीकृत भुक्तानी तालिका बमोजिम २०७५ असार ३ मा ६ करोड ६२ लाख डलर र २०७५ असार २८ मा ६ करोड ९५ लाख डलर रकम निगमबाट भुक्तानी भएको छ,मन्त्री अधिकारीले भने ।

२०७४ मंसिर २७ मा सर्वोच्चले विमान खरिद प्रक्रियामा त्रुटि नरहेको भन्दै फैसला समेत गरिसकेकाले आफूले भुक्तानी रोक्न सक्ने अवस्था नरहेको जानकारी उनले गराए । ुकुनै पनि प्रकारले मैले भुक्तानी रोक्ने अवस्था थिएन । यदि रोकेको भए न त जहाज प्राप्त हुने न रकम नै फिर्ता हुने अवस्था थियो । निगम टाट पल्टिने अवस्था हुन सक्थ्यो, जुन म गर्न सक्दिनँ,ु मन्त्री अधिकारीले भने ।
विभागीय मन्त्रीको हिसाबले लिनुपर्ने नैतिक जिम्मेवारी बाहेक विमान खरिद प्रक्रियामा आफ्नै कुनै भूमिका नरहेको उनको प्रष्टिकरण छ ।
विमान खरिदमा भएको भनिएको अनियमितता छानबिनमा आफ्नो साथ र सहयोग रहने भन्दै मन्त्री अधिकारीले दोषी नउम्किने र निर्दोष बदनाम नहुने अवस्था आओस् भन्ने कामना गरे ।-लोकान्तरबाट


