(सुरेन्द्र भण्डारी)

झापा ।



बिर्तामोडस्थित कृषि थोक उपज वजारमा विक्रीका लागि ल्याएको तरकारी विशाक्त पाइएपछि बिर्तामोड नगरपालिकाले वुधवार जफत गरेको छ ।


नगरपालिका प्रमुख धुव्रकुमार शिवाकोटीसहितको टोलीले विक्रीका लागि राखिएको तरकारी बजारबाटै जफत गरेको हो । कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) नेपालको संयुक्त लगानीमा तीन वर्षअघि बिर्तामोडमा प्रयोगशाला स्थापना गरिएपनि पहिलो पटक नगरप्रमुख शिवाकोटीसहितको टोलीले तरकारीको विषादि मापन गर्दै विशाक्त तरकारी बजारबाटै जफत गरेको हो ।
वजारमा विक्रीका लागि ल्याइएको तरकारी विषादि अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशालामा जाँच गराएर मात्रै बेच्नु पर्ने हुन्छ । तर, तरकारीको जाँच नै नगराई विक्रीका लागि राखिने गरेपछि तरकारी परीक्षण गर्दै विशाक्त तरकारी बजारबाटै जफत गरेको नगरप्रमुख शिवाकोटीले बताए । उनले भने– ‘यो वजारमा भित्रने तरकारी र फलफूलको विषादि मापन गर्न उपकरण भएपनि परीक्षणका लागि किसन र व्यापारीले नल्याउँदा यो समस्या भएको हो , अब यहाँ बिक्री हुने तरकारी र फलफूल परीक्षण गरेर मात्र बेच्न र किन्न म आम नगरवासीलाई अनुरोध गर्छु ।’
वजारमा विक्रीका लागि ल्याएको तरकारी मध्ये सवैभन्दा बढी विषादियुक्त तरकारी राजगढको पाइएको थियो । राजगढका व्यापारी र किसानले ल्याएको व्रोकाउलीमा खानै नमिल्ने गरी विषादि भेटिएपछि त्यस्ता तरकारी तत्काल जफत गरिएको नगरप्रमुख शिवाकोटीले बताए । उनले भने–‘ चकचकी र राजगढबाट आउने सबै तरकारी परीक्षण गर्दा विषाक्त पाइयो ।’
नगरप्रमुख सहित प्रयोगशालाका कर्मचारी , प्रहरी, सञ्चारकर्मी, नागरिकसमाजका अगुवाले गरेको अनुगमनका क्रममा व्यापारी र किसानले भने भारतबाट आउने विशाक्त तरकारी विक्रीमा समेत रोक लगाउन माग गरेका छन् । भारतबाट आउने तरकारी अझ विशाक्त हुने भन्दै उनीहरुले त्यस्तो तरकारी नेपाल भित्रनै नदिन माग गरे ।
किसानलाई रासायनिक विषादिको वारेमा अझैंपनि ज्ञानको कमी रहेको भन्दै उनीहरुले किसानलाई विषादि प्रयोगका विषयमा शिक्षा दिइनु पर्ने माग समेत गरेका छन् ।
विषादि अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशाकी प्राविधिक सहायक अञ्जु आचार्यका अनुसार तरकारी परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम विषादि भेटिए उपयोग योग्य, ३५–४५ प्रतिशतसम्म विषादि भेटिए केही दिन राखेर पुन परीक्षण गर्दै खान सकिने र ४५ प्रतिशत भन्दा बढी विषादि भेटिए त्यस्तो तरकारी र फलफूल खान नमिल्ने बताइन् । उनले भनिन–‘विषादिमा हुने कार्वामेट र अर्गानोफोस्फेटको मात्रा हेरेर तरकारी खान र फलफूल मिल्ने या नमिल्ने छुट्याइन्छ ।’
भारतमा उत्पादित बन्दा सुनिता राजवंशीले बिक्रीका लागि ल्याएकी थिइन् । जसमा विषादि परीक्षण गर्दा कार्वामेट २.८१२९ पाइएको थियो भने अर्गानोफोस्फेटको मात्रा ५.४८९३ प्रसतशत पाइएको आचार्यले बताइएन् । उनका अनुसार यो तरकारी खान योग्य छ ।
वुधवार नै चकचकीका कृषक शेर मोहम्मदले विक्रीका ल्याएको व्रोकाउलीको नमूना परीक्षण गर्दा कार्वामेट १.१४६३ र अर्गानोफोस्फेटको मात्रा ६५.७२३ पाइएको थियो । जुन व्रो काउली खान अयोग्य रहेको प्रयोगशालाकी प्राविधिक सहायक आचार्यले बताइन् ।
प्रयोगशालामा परीक्षण गरिएको विषादिको नतिजा सहितको जानकारी वाली संरक्षण निर्देशनालय हरिहर भवन ललितपुर, क्षेत्रीय वाली संरक्षण प्रयोगशाला विराटनगर मोरङ,कृषि उपज वजार व्यवस्थापन समिति बिर्तामोडलाई पठाइएको आर्चायले बताइन् ।
बिर्तामोड नगरपालिकाका कर्मचारी मेघराज वास्तोलाका अनुसार कृषि थोक वजारमा विक्रीका लागि ल्याइएको ५ किसान र व्यापारीको तरकारी नष्ट गरिएको छ । केही तरकारीमा विषादिको मात्रा कम देखिएकाले पुन परीक्षण गरी कृषकलाई नै फिर्ता दिइने जानकारी दिए । उनीहरुलाई तीन दिन पछि सो तरकारी फिर्ता दिने बताइएको छ ।
नगरप्रमुख सहितको टोली कृषि थोक वजार पुग्दा केही व्यापारी भने सामान छाडेर भागेका थिए ।
टोलीले वाह्रदशी –३ का चन्द्र साहा, महावीर साहा, बिर्तामोड ४ कि सुधा चौधरी, चकचकीका शेर महम्मदको तरकारी वजारबाटै जफत गरेको थियो ।

