Aamsanchar

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

Author Image
बिहिवार, पौष २६, २०७५

काठमाडौँ,

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रायसिना संवादको चौथो संस्करणमा भागलिने सिलसिलामा भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली र उहाँका भारतीय समकक्षीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविधि पक्षमा विचारविमर्श गर्नुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

“दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गतत नेपालमा जारी विकास–निर्माणका आयोजनाको समीक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्टि प्रकट गर्नुभएको छ । उहाँहरूले ती आयोजना निर्धारित समयमा नै पूरा गर्न निर्वाधरुपमा तिनलाई गतिदिनुपर्नेमा जोड दिनुभएको छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालसालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याएकामा त्यसको प्रशंसा गर्नुभएको छ ।

भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउण्डेशनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो । मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताका रुपमा सहभागी हुन आज बिहान नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर